कोलकाता: पश्चिम बंगालमा छवटा विधानसभा आसनमा हुन गइरहेको उपचुनाउमा चौतर्फी प्रतिद्वन्द्विता हुने देखिएको छ। माकपाले चारवटा आसनको निम्ति आफ्ना उम्मेद्वारहरूको घोषणा गरेको छ जसबाट यो स्पष्ट हुन्छ कि यो उपचुनाउमा तृणमूल, भाजपा, लेफ्ट र कंग्रेसबीच स्पर्धा हुनेछ।
लेफ्ट फ्रण्टले कोचबिहारका सिताई, अलिपुरद्वारको मदारीहाट, पश्चिम मेदिनीपुरको मेदिनीपुर औ बाँकुड़ाको तालडांगरा आसनमा आफ्ना उम्मेद्वहरूलाई उतारिसकेको छ। तथापि हरोआ सीटको लागि उम्मेद्वारको घोषणा हुन बाँकी छ र यसको निम्ति अल इण्डिया सेक्युलर फ्रण्ट (एआईएसएफ)- सित बातचित भइरहेको छ।यसबीच कंग्रेसले छःवटै सीटको लागि १७ जना सम्भावित उम्मेद्वारहरूको नाम दिल्लीमा पार्टीका शीर्ष नेतृत्वलाई पठाएको छ। गए सप्ताह भाजपाले आफ्ना उम्मेद्वारहरूको घोषणा गरेको थियो भने तृणमूल कंग्रेसले पनि आफ्नो सूची जारी गरिसकेको छ। लेफ्टले सिताईबाट अरुण कुमार बर्मा, मदारीहाटबाट पदम उरावँ, मेदिनीपुरबाट मणिकुन्तल खमरुई औ तालडांगराबाट देवकान्ति मोहन्तीलाई मैदानमा उतारेको छ। नैहाटीबाट सीपीआई (एम-एल)- का देबज्योति मजुमदार उम्मेद्वार हुनेछन्।राजनीतिक जानकारहरूको मान्यता छ, चौतर्फी स्पर्धाबाट विरोधी दलहरूमा भोट बाँड़िनेछ जसबाट तृणमूल कंग्रेसलाई फाइदा हुनसक्छ।
यो उपचुनाउको महत्व तृणमूल र भाजपा दुवैको लागि बढ़ेको छ, किनभने हालैमा कोलकाताको आरजी कर मेडिकल कलेजमा एकजना महिला डाक्टरसित भएको दुष्कर्म अनि हत्याको मामिलाले राज्यको परिवेश तनाउपूर्ण भएको छ।