२३ अक्टोबरदेखि सोम चियाबारी खोलिनेछ: जेबी तामाङ
दार्जिलिङ: बन्दावस्थामा रहेको दार्जिलिङको सोम चियाबारीको समस्या समाधानको लागि आज संयुक्त बैठक सम्पन्न भएको जानकारी प्राप्त भएको छ। उक्त संयुक्त बैठकमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको ट्रेड युनियन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन र गोर्खा जनमुक्ति मोर्चाको ट्रेड युनियन दार्जिलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियनका प्रतिनिधिहरू र बगान पक्षमाझ सभा बसेर बगान खोलाउन सम्झौता गरिएको जानकारी प्राप्त भएको छ। उक्त बगान श्रमिकहरु काममा हाजिर नभएको तथा कारखाना तथा बगानमा बाधा पुर्याएको कारण देखाई सोम चिया बगानमा विगत ७ अक्टोबरदेखि काम निलम्बन गरिएको थियो। श्रमिकहरूले १ जनवरीमा जारी गरिएको एड्भाइजरी अनुसार १६ प्रतिशत बोनस प्राप्त पनि गरिसकेका थिए। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको ट्रेड युनियन हिल तराई डुवर्स प्लानटेसन वर्कर्स युनियनका अध्यक्ष जेबी तामाङले जानकारी दिए अनुसार गोजमुमो अनि बीजीपिएम-का ट्रेडका नेतृत्वहरु मालिक पक्षसँग बैठकमा बसेको थियो। आज बसेको संयुक्त बैठकमा विचार विमर्शपछि सबै पक्षले एउटा सम्झौतामा हस्ताक्षर गरेका छन्। उक्त सम्झौताका शर्तहरूमा बगान भोलि २३ अक्टोबरको बिहानदेखि सामान्य रूपमा सञ्चालनमा आउनेछ।
सेंट्रल ट्रेड युनियन र सोम चिया बगानका प्रतिनिधिहरूले व्यवस्थापन, कार्यकारी र उनीहरूको परिवारको सुरक्षा सुनिश्चित गर्ने आश्वासन दिएका छन्। त्यसरी नै बगानका कार्य घण्टा ८ घण्टा हुनेछ, समय सीमा ३ दिनभित्र तय गरिनेछ। यसको साथै कामको निलम्बनको अवधि कुनै काम नगर्ने र कुनै तलब नपाउने रूपमा मानिनेछ। दस्तुर/खराब संस्कार तुरुन्तै समाप्त गरिनेछ। व्यवस्थापनले कानूनी आधारमा अपराधीहरू विरुद्ध अनुशासनात्मक कार्वाही गर्न सक्ने अधिकार राख्दछ भनी सम्झौता भएको बताइएको छ।
यो विवाद पूर्ण रूपमा अन्ततः समाधान भएको सम्झौतामा जनाइएको छ।