भोलि लङ्भ्यु चियाबारी विषयमा वार्ता हुने
खरसाङ: लंगभ्यु चियाबारी विषय लिएर आज सिलगढीको डागापूरस्थित श्रमिक भवनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा ट्रेड यूनियन अनि गोरामुमोको श्रमिक संगठन एचपीडब्लुयुले संयुक्त रूपमा अर्जी पत्र चढाएको छ। यस अवधि लंगभ्यु चियाबारीमा हाल भइरहेको समस्या विषयलाई लिएर भोलि बुधवार डागापुरस्थित श्रमिक भवनमा सभा डाकिएको छ जनाउँदै उक्त सभामा अवश्य नै यहाँको समस्याको समाधान हुने विश्वास दुवै दलका नेतृत्वहरूले गरेका छन्। तिनीहरूले कुनै पनि समस्याको समाधान केवल वार्ताद्वारा नै टेबलमा बसेर हुने जनाउँदै कुनै पनि आन्दोलनले क्षेत्रको शान्त वातावरणलाई नै भङ्ग गर्ने अनि मानिसहरूमा एक प्रकारको नकरात्मक प्रभाव पर्ने जनाए। यस कार्यक्रममा भागोप्रमोको पक्षबाट सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन, एमओडी सभासद प्रणाम रसाईली, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा सभापति सागर गुरूङ, सचिव भक्तिमान तामाङ, लङ्भ्यू पञ्चायत समिति सदस्य मौसम तामाङ, खरसाङ खण्ड पञ्चायत समिति अध्यक्ष अनु प्रधान लगायत स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने एचपीडब्ल्यु तथा गोरामुमोको पक्षबाट खरसाङ ब्राञ्च अध्यक्ष निमा तामाङ, सचिव बिरेन्द्र छेत्री लगायत अन्य प्रतिनिधिहरू उपस्थित थिए। यहाँ तिनीहरूले लङ्भ्यू समस्यालाई लिए श्रमायुक्तलाई एउटा ज्ञापन पनि चढाए।