काठमांडू: सर्वसाधारण निक्षेपकर्ताले विभिन्न सहकारी संस्थामा जम्मा गरेको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पक्राउ गरेको सरकारले यस्तै आरोपमा सत्तारुढ दलका दुई सांसदमाथि अनुसन्धान गर्न आलटाल गरेको छ।
नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङ र एमाले नेता एवं संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल जोडिएको सहकारी बचत अपचलन प्रकरणमा अनुसन्धान भएको देखिँदैन। आरोपित सांसद सत्तासीन एकीकृत माले र कांग्रेससँग सम्बन्धित भएकाले शक्तिको आडमा अनुसन्धान रोकिएको भन्दै सार्वजनिक वृत्तमा आलोचना भइरहेको छ।
धनराजलाई कांग्रेसको संरक्षण:
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ। उनी र उनकी श्रीमती ज्योतिविरुद्ध सहकारी ठगीमा जाहेरी परेको छ।
गुरुङ कांग्रेसका तिनै सांसद हुन्, जो पाँच महिनाअघि संसदमा तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई ‘सहकारी ठग’ भन्दै रोस्ट्रममा जान रोक्नेमध्ये अग्र पंक्तिमा थिए। यस क्रममा एकीकृत माले अध्यक्ष केपी ओलीसँग चर्को स्वरमा संसदभित्र उनको भनाभनसमेत भएको थियो। हालका प्रधानमन्त्री ओली त्यो बेला रविविरुद्ध संसदीय छानबिनको विपक्षमा थिए। गुरुङसहित कांग्रेस सांसदहरूले गृहमन्त्री रविविरुद्ध संसदीय छानबिनको माग गरेका थिए। यसरी रविविरुद्ध छानबिनको माग गर्दै कडा रूपमा प्रस्तुत हुनेमा सांसद रमेश लेखक पनि एक थिए, जो हाल गृहमन्त्री छन्।
त्यो बेला मूलतः कांग्रेसकै मागअनुसार, सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न एकीकृत माले सांसद सूर्य थापाको नेतृत्वमा विशेष संसदीय समिति बनेको थियो। १५ जेठमा गठित समितिकै सिफारिसलाई मूल आधार बनाएर प्रहरीले पूर्वगृहमन्त्री लामिछानेलाई २ कात्तिक राति पक्राउ गरी पोखरा लगेर अनुसन्धान गरिरहेको छ।
समितिले रविलाई मात्र होइन, कांग्रेस उपसभापति गुरुङमाथि समेत अनुसन्धान गर्न सिफारिस गरेको छ। तर, सरकारले गुरुङमाथि अनुसन्धान सुरु गरेको देखिँदैन। यसलाई धेरैले सरकारको पक्षपाती व्यवहार भनेका छन्। आफ्ना सभापतिविरुद्ध न्यायिक परीक्षण अवरुद्ध पार्ने प्रयास गरिरहेको रास्वपाले नै यसलाई नयाँ दलप्रति पुराना र ठूला दलको प्रतिशोध, मनपरी, दण्डहीनताको प्रतिनिधि घटना र सत्ताको दुरुपयोग भनेर प्रचार गरिरहेको छ।
आफ्नी श्रीमती सञ्चालक रहेको ललितपुरस्थित मितेरी सहकारीको झण्डै १५ करोड रुपैयाँ बचत अपचलनमा गुरुङको संलग्नता रहेको दाबीसहित प्रहरीमा बागमती प्रदेश सरकार र सहकारी दुवैतिरबाट जाहेरी परेको छ।
उनकी श्रीमती ज्योति प्रबन्धक भएको समयमा २०१९मा मितेरी सहकारीले आन्तरिक छानबिन गर्दा १२ करोड ५० लाख अपचलन भएको खुलेको थियो। त्यसको एक वर्ष अर्थात् २०२० देखि ज्योति फरार भइन्। उनी हाल अमेरिकामा छिन्।
गुरुङले श्रीमती ज्योतिसँग डिभोर्स (नियोजित कागजी सम्बन्धविच्छेद) गरेको पनि पुष्टि भएको छ। १९मार्च २०१९ मै ज्योतिसँग डिभोर्स भएको दाबी गरे पनि २०२० मा थप कर्जा लिँदा धनराजले हकवालामा ज्योतिलाई श्रीमतीकै हैसियतमा राखेर औंठाछाप लगाएको कागज सार्वजनिक भइसकेको छ। संसदीय छानबिन समिति र सहकारीको उजुरीका आधारमा उनीमाथि अनुसन्धान हुनुपर्नेमा सत्ताको आडमा उन्मुक्ति दिने प्रयास भइरहेको आशंका छ।
धनराजलाई जोगाएर आफ्ना सभापतिलाई मात्र पक्राउ गरी सरकारले पक्षपात र प्रतिशोध साँधेको आरोप यतिबेला रास्वपाका नेता, कार्यकर्ताले लगाइरहेका छन्। उनीहरूले प्लेकार्डमा धनराजमाथि अनुसन्धान किन भएन भनी प्रश्नसमेत गरिरहेका छन्।
भन्नलाई धनराज र कांग्रेस पार्टीले नै अनुसन्धानमा सघाउने बताइरहेका छन् तर अहिलेसम्म परिणाम नदेखिएकाले भित्रभित्र अनुसन्धान रोक्न प्रहरीलाई दबाब दिएको आशंका गर्न थालिएको छ।









