ताप्लेजुङ: अवैध मदिरा बोकेको पिकअप गाडीलाई प्रहरीले सोमबार साँझ ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका-१ मेवाखाबाट नियन्त्रणमा लिएको छ ।मेची राजमार्ग हुँदै अवैध मदिरा ओसारपसार गरिरहेको गाडीलाई प्रहरी चौकी मेवाखाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। इलामको फिक्कलबाट ताप्लेजुङतर्फ जाँदै गरेको मे १ च ४२१४ नम्वरको पिकअप गाडीलाई नियन्त्रणमा लिएर २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गाडीबाट ५० कार्टुन सिक्किमे मदिरा बरामद भएको छ। प्रहरीले गाडी चालक झापाको बुद्धशान्ति गाउँपालिका-३ का सनम राई र अवैध मदिरा ओसारपसारमा संलग्न बुद्धशान्ति-३ का महेन्द्र बर्देवालाई पक्राउ गरेको छ।नियन्त्रणमा लिइएको गाडी, बरामद भएको मदिरासहित पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाइएको जानकारी प्रहरीले दिएको छ।