काठमांडू: संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले प्रतिष्ठानहरुको काममा एक रुपता हुन जरुरी रहेको औल्याए।
मङ्गलबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले उक्त कुरा बताएको हो। ‘‘बाढीका कारण ललितकला प्रतिष्ठानले क्षति व्यहोर्नु पर्यो। जसका कारण वार्षिक प्रतिवेदन ढिलो गरी प्राप्त भएको हुनुपर्छ।’ मन्त्री पाण्डेले भने, ‘‘कतिपय प्रतिष्ठानहरु नाम मात्रैका छन्। कहीँ कानुनको अभाव त कहीँ भवनहरुको समेत अभाव देखिन्छ। प्रतिष्ठानहरुलाई एक रुपता हुने गरी व्यवस्थित गर्न जरुरी छ।’’
मन्त्री पाण्डेले कतिपय पालिका, प्रदेश र संघका प्रतिष्ठानहरुबिच तालमेल नभएको जिकीर गर्नुभयो। उहाँले प्रतिष्ठानको कार्यमा एक रुपता ल्याउनका लागि केन्द्रका प्रतिष्ठानहरुले चिन्ता र चासो लिनुपर्नेमा जोड दिए। मन्त्री पाण्डेले प्रतिष्ठानलाई सबल र सुदृढीकरणा गर्नका लागि मन्त्रालयले सदैव तत्पर भएको समेत उद्घोष गरे।
ललितकला प्रतिष्ठानका कुलपति नारदमणी हातम्छालीले गत आव २०२३/२०२४ मा सात वटै प्रदेशमा ललितकला प्रदर्शनीहरु गरिएको, प्रदेश प्रदर्शनीमा एक हजार १० कलाकारहरुले विधागत रुपमा सक्रिय रुपमा भाग लिएको, गण्डकी, सुदूरपश्चिम र मधेश प्रदेशमा प्राज्ञिक भेलाको सम्पन्न, दाङमा सेरामिक्स हबका रुपमा अघि बढाएको र राष्ट्रिय ललितकला प्रदर्शनी सफलताका साथ सम्पन्न गरिएको बताए। साथै ललिकतला प्रष्ठिानमा स्थायी कर्मचारीको अभाव, बजेटको अभाव लगायतका विषयमा समेत प्रतिष्ठानले मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका थिए।










