मोरंग (बिराट चौक): पुर्बपश्चिम लोकमार्ग अन्तर्गत मोरङको बेलबारी ३ मा प्रदेश प्रहरी अस्पतालको बोर्ड देख्ने बित्तिकै धेरै मानिस झुक्किन्छन, अहो, प्रदेश प्रहरी अस्पताल त यहाँ पो रहेछ, तर बास्तविकता थाह पाउँदा धेरैको मन कुँडिन्छ।
पुरानो ईलाका प्रहरी कार्यालय बेलबारीको भवनमा प्रदेश प्रहरी अस्पताल शुरु गरिएको थियो। अस्पताल शुरु भएको एक बर्ष नबित्दै अचानक रातारात अस्पताल सुनसरीको ईनरुवा सारियो। बेलबारीमा ठाँउ अभाव भएको र स्थानीय सरकारले बेवास्ता गरेको भन्दै अस्पताल सारिएको थियो।
अस्पताल सारिएको १ बर्ष पुग्न लागेको छ। अस्पतालको बोर्ड,स्वागतद्धार सबै बेलबारीमै छन्। अस्पताल फिर्ता गर्न स्थानीय सरकार,यस क्षेत्रका सांसद र राजनीतिक दलका प्रतिनिधिहरुले पटक पटक काठमाण्डौ जाने र तत्काल अस्पताल फिर्ता हुन्छ भन्ने गरेपनि अस्पताल फिर्ता हुने सम्भावना लगभग शुन्य झै रहेको छ।
अस्पताल सरेपछि बेलबारी नगरपालिकाले बेलबारीमै अस्पताल फिर्ता ल्यउन बेलबारी ४ मा रहेको नगर अस्पतालको भवन,बेलबारी १ मा रहेको जग्गाको अफर गरेको भएपनि अस्पताल फिर्ता आउने सम्भावना भने टर्दै गएको जानकारहरु बताउँछन्। अस्पताल फिर्ता ल्याउने नाममा स्थानीय सरकारको ठुलो लगानी भईसकेको छ।










