बिराटनगर: मोरङका अलगअलग स्थानमा डुबेर २ जना बालबालिकाको मृत्यु भएको छ।
घटना धनपालथान र बूढीगंगा गाउँपालिकामा भएको हो। मृत्यु हुनेमा ५ वर्षीया बालिका र १५ वर्षीय बालक छन्।
पानी जमेको खाल्डोमा डुबेर धनपालथान-४ का सीताराम मण्डलकी ५ वर्षीया छोरी नितिका मण्डलको मृत्यु भएको छ। घरनजिकको खाल्डोमा डुबेको अवस्थामा दिउँसो ४ः३० बजेतिर हजुरआमाले देखेर उद्धार गरेको प्रहरीले जनाएको छ।
उद्धार गरेर उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल ल्याइएकी नाबालिकाको मृत्यु भएको मोरङ प्रहरीका निमित्त प्रवक्ता, इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए। उनका अनुसार शवको विराटनगरस्थित कोशी अस्पतालमा पोस्टमार्टम गरिएको छ।
पोस्टमार्टमपछि अभिभावकले शव बुझेर अन्त्येष्टिका लागि लगेका छन्। इन्स्पेक्टर ओलीले बालिका खेल्दै जाने क्रममा खाल्डोमा खसेर डुबेको हुनसक्ने बताए।
त्यस्तै, बूढीगंगा-५ स्थित बूढीखोलामा डुबेर १५ वर्षीय बालकको मृत्यु भएको छ। स्थानीय खटर शर्माका छोरा आनन्द शर्माको मृत्यु भएको जानकारी इन्स्पेक्टर ओलीले दिए। उनका अनुसार नुहाउने क्रममा बालक खोलामा डुबेको हुनसक्ने अनुमान गरिएको छ। आनन्दलाई डुबिरहेको अवस्थामा आमाले फेला पारेकी थिइन्। छरछिमेकीलाई खबर गरेर उद्धार गरी उपचारका लागि दुहबी सामुदायिक अस्पताल लगिएको थियो।
थप उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ।बालबालिकाको मृत्यु भएको घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।