मोरङ(बिराटनगर): मोरङ प्रहरी प्रमुखका रूपमा एसपी नारायण चिमरिया हाजिर भएका छन्। उनी सोमबारदेखि जिल्ला प्रहरी कार्यालय मोरङ हाजिर भएका हुन्।
जिल्लामा हाजिर हुनासाथ विभिन्न युनिटका इन्चार्जहरूलाई बोलाएर निर्देशन दिएका छन्। नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीमा कार्यरत चिमरियालाई काजमा मोरङ खटाइएको हो।
यसअघिका मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीलाई प्रहरी प्रधान कार्यालय झिकाएर उनका ठाउँमा एसपी राजन लिम्बूलाई पठाउने निर्णय भएको थियो। तर, मोरङ हाजिर हुन नपाउँदै लिम्बूको काज रद्ध गरी चिमरियालाई पठाइएको हो।प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीले प्राविधिक कारणले लिम्बूलाई रोकेर चिमरियालाई पठाइएको बताए। कार्यालयको आवश्यकताका कारण लिम्बूलाई मोरङ पठाउन नसकिएको उनको भनाइ छ।