नाम्ची-सिङ्गीथाङबाट एसकेएम उम्मेदवार सतिशचन्द्र राईले भरे नामाङकन

IMG-20241021-WA0263

नाम्ची: नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रका एसकेएम उम्मेदवार सतिशचन्द्र राईले आज नाम्ची जिल्लापाल कार्यालयमा नामाङकन पत्र बुझाए। यस अवसरमा पूर्व विधायक श्रीमती कृष्णाकुमारी राई, विधानसभा उपाध्याक्ष राजकुमारी थापा, चुनाव प्रचार प्रसार प्रभारीहरू मन्त्री अरूण उप्रेती, भोजराज राई, विधायक सोनम भेञ्चोङपा, एनबी प्रधान, एलबी दास, दिले नामग्याल बर्फूङपा,मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेत, जिल्ला पञ्चायत अध्यक्ष अञ्जिता राजालिम, उपाध्याक्ष विकास तामाङ, लगायत पार्टीका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। विशेष गरेर आगामी १३ नोभेम्बरमा सम्पन्न हुने सिक्किम विधानसभाको उप चुनाउको निम्ति हिजो मात्र एसकेएम पार्टीले राजधानीस्थित पार्टी मुख्यालयमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै नाम्ची सिङ्गीथाङ र सोरेङ च्याखुङ निर्वाचन क्षेत्रमा उपचुनाउलाई लिएर उम्मेद्वारको घोषणा गरेको थियो जसमा सोरेङ च्याखुङ निर्वाचन क्षेत्रको निम्ति पूर्व विधायक आदित्य गोले र नाम्ची सिङगीथाङ निर्वाचन क्षेत्रको निम्ति सतिशचन्द्र राईलाई एसकेएम पार्टीको उम्मेद्वारको रूपमा घोषणा गरिएको थियो। उल्लेखीय़ छ, गत अप्रेल महिनामा सम्पन्न भएको सिक्किम विधानसभाको चुनाउमा नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रबाट मुख्यमन्त्रीकी धर्मपत्नी श्रीमती कृष्णाकुमारी राई विजयी बनेकी थिइन्‌। पछि विधायक पदबाट राजीनामा दिएपछि यस क्षेत्रमा पद रिक्त रहेको थियो। यसैगरी सोरेङ च्याखुङ र रिनाक निर्वाचन क्षेत्रबाट मुख्यमन्त्री प्रेमसिंह तामाङ स्वयंले प्रतिस्पर्धा गरेका थिए। दुवै निर्वाचन क्षेत्रबाट विजयी बनेका मुख्यमन्त्रीले सोरेङ च्याखुङ निर्वाचन क्षेत्रलाई छोडेपछि सो निर्वाचन क्षेत्रमा पद रिक्त भएको थियो। यी दुवै निर्वाचन क्षेत्रमा चुनाउ आयोगले देशको सबै राज्यहरूमा उपचुनाउको मिति घोषणा गरेपछि सिक्किमको दुईवटा निर्वाचन क्षेत्रमा १३ नोभेम्बरको दिन चुनाउको मिति निर्धारित गरिएको छ। आफ्नो नामाङकन पत्र भऱेपछि उम्मेद्वार सतिशचन्द्र राईले पत्रकारहरूलाई सम्बोधन गर्दै नाम्ची सिङ्गीथाङ क्षेत्रको विविध समस्याहरूलाई प्राथमिकता दिएर जनताको काम गर्ने प्रतिवद्वता जाहेर गर्दै आफुलाई क्षेत्रवासी जनताको काम गर्ने अवसर प्रदान गरेकोमा पार्टी अध्यक्ष प्रेमसिंह तामाङप्रति आभार व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement