नाम्ची: नाम्ची जिल्लाकी जिल्लापाल अनुपा ताम्लिङले एकीकृत आर्थिक समावेशी कार्य योजना तथा सिक्किम इन्सपायर्स योजनाबारे विभागीय अधिकारीहरुसँग छलफल गरिन्। सिक्किम एकीकृत सेवा प्रावधानअन्तर्गत उक्त कार्ययोजनालाई जिल्ला प्रशासनले प्रभावी बनाउने तयारी गरेको छ। यस कार्ययोजनाको जिल्लास्तरीय समितिको उक्त बैठकमा अतिरिक्त जिल्लापाल, महकुमा अधिकारी, ग्राम विकास अधिकारीहरु लगायत विभिन्न विभागका अधिकारीहरु सहभागी थिए। बैठकमा अतिथि विशेषज्ञद्वय सहिम लस्कर अनि शियारी देवबर्माको पनि उपस्थिति थियो। सिक्किम इन्सपायर्सलाई सिक्किम सरकारले राज्यका विभिन्न जिल्लामा प्रभावी बनाउने दिशामा कार्य शुरु गरेको छ। महिला र युवाहरूलाई आर्थिक अवसरहरू बढाउने उद्देश्यले शुरु गरेको पहल हो। जिल्लापाल ताम्लिङले सिक्किम इन्स्पायर्स टोलीको कार्यलाई प्रशंसा गरिन्। उनले राज्यको हितमा परियोजनाको महत्त्वलाई प्रभावी पार्ने बताउँदै महिला तथा युवाहरुलाई आत्मनिर्भऱ बनाउने र समृद्ध आर्थिक राज्यको रुपमा सिक्किमलाई उदाहरण बनाउने दिशामा काम गर्नुपर्ने बताइन्। उनले सम्बन्धित सबै विभागलाई स्रोत उत्पादनमा ध्यान केन्द्रित गर्ने निर्देश दिइन् र इन्स्पायर्स पहल मार्फत जिल्लाको कार्यक्षमता सुधार गर्ने कुरामा जोड़ दिइन्। स्रोतवक्ता सुनील मोथेले एकीकृत शिक्षा र सचेतना कार्यक्रमको बारेमा विभागका अधिकारीहरूबीच समन्वय जरुरी बन्ने बताए। विश्व ब्यांकसँगको सहकार्यमा इन्सपायर्सको भूमिकामाथि पनि जानकारी गराए। उनले विशेष गरी महिला र युवाका लागि आर्थिक अवसरहरू सिर्जना गर्ने पाँच वर्षीय परियोजनाको उद्देश्यलाई प्रकाश पार्दै सबै सहभागीहरूलाई यसबाट लाभ हसिल गर्ने सुझाउ दिए। उनले सिक्किम इन्स्पायर्समार्फत पर्यटन, आईटी, हरित रोजगारी र चाइल्ड केयरमाथि जानकारी दिए। सहिम लस्करले योजनाको आधारभूत अवधारणाबारे बताए। डा. सीपी राईले यस क्षेत्रको पर्यटकीय सम्भावनाबारे मन्तव्य राखेका थिए।











