रोड मरमत्तिको कार्य वर्क डनमा होइन तर वर्क अर्डरमा मात्र गर्न दिने निर्णय
खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ दुई ग्राम पञ्चायतको अप्पर मामरिङमा चालक संगठनको आयोजनामा सोचनीय अवस्थामा रहेको सड़कलाई लिएर गाउँलेहरूलाई लिएर सभा सम्पन्न भएको छ। उक्त सभा रूद्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा विशेष गरेर बाघगौरादेखि अप्पर मामरिङ हुँदै लाब्दासम्म पुग्ने सड़कको विषयमा चर्चा परिचर्चा गरिएको छ। उक्त सभामा चालक संगठनको प्रतिनिधिहरू, मामरिङ क्षेत्रका चर्चहरू क्रमैले हिमालय पेन्टीकोस्टल चर्च, हिमालय फ्रि चर्च, उपासना चर्च आदिको प्रतिनिधिहरू, ग्राम पञ्चायत सदस्यहरू, पञ्चायत समिति सदस्यहरू, गाउँको स्वनिर्भर दलहरूका प्रतिनिधिहरू, गाउँको समाजका गण्यमान्य व्यक्तिहरूलाई लिएर सभा सम्पन्न भएको छ। सभामा उपस्थित सबैले आफ्नो आफ्नो वक्तव्यमा विभिन्न सुझावहरू राखेका थिए। सभामा वक्तव्य राख्ने क्रममा चालक संगठनक तर्फबाट सभापति सञ्जीव छेत्री, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अप्पर मामरिङ शाखाको सभापति प्रेमकुमार खवास, सचिव हेमन्त गुरुङ, स्वनिर्भर दलबाट अमृता राई, सिटोङ दुई ग्राम पञ्चायतको पञ्चायत सदस्य कृष्ण मुखिया, गाउँको तर्फबाट तिमोथी मुखिया, समाज सुधार समितिको सचिव पेम्बा शेर्पा, सभाको अध्यक्ष रुद्र गुरुङ आदिले वक्तव्य राखेका थिए। वक्तव्यको क्रममा सबैले आफ्नो आफ्नो तर्फबाट सुझावहरू राखेका थिए। वक्ताहरूले बाघगौरादेखि अप्पर मामरिङ हुँदै लाब्दासम्म पुग्ने रोडको अवस्था दीर्घकालीन रूपमा सोचनीय अवस्थामा रहेको र यस रोडको मरमत्तिको काम भए पनि पूरा नभएको र हालत उस्तै रहेको बताएका छन्। वक्ताहरूले उक्त रोडको कार्य गणपति कन्सट्रक्शनले शुरु गरे पनि काम पूरा नगरेको र काम अधुरै रहेको बताइएको छ। त्यसरी नै अप्पर मामरिङको मानेडाँडादेखि लोवर मामरिङसम्म पुग्ने बाटो पनि अधुरै रहेको जानकारी गराइएको छ। उक्त रोडको शिलान्यास गत वर्ष २०२३ को अप्रेल महिनामा गरिए पनि एजेन्सीले बीचमा काम गरे पनि अहिले रोड लथालिङ्गै पारेर छोडेको आरोप लगाइएको छ। ये रोडको लथालिङ्गै भएको अवस्थाले दुर्घटना हुनसक्ने सम्भावना देखिएको पनि वक्ताहरूले बताएका छन्। यस रोडलाई लिएर गाउँलेहरू र सबै संघ संस्थाहरू र समाजहरू मिलेर कड़ाकड़ी रूपमा पहल गरिने सभामा निर्णय गरिएको जानकारी प्राप्त भएको छ। यस रोडलाई लिएर पञ्चायतमा र चालक संगठनलाई पनि पत्रचार गरिएको साथै एजेन्सीसित पनि बसेर बातचीत गरिने भएको बताइएको छ। यसको साथै उक्त रोडको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रतिनिधिहरूले तिहारपछि काम थाल्ने प्रतिश्रुति दिएको जानकारी प्राप्त भएको छ। यसै विषयमा सभामा चर्चा परिचर्चा गरिन्दै गाउँलेहरूको मांग से रोडको काम वर्क डनमा होइन तर वर्क अर्डर ल्याएर हातमा देखाएर मात्र काम गर्न दिने सभामा निर्णय गरिएको जानकारी प्राप्त भएको छ। सभाको निर्णय अनुसार बाघगौरादेखि लाब्दासम्म पुग्ने रोड र अप्पर मामरिङको मानेडाँडादेखि लोवर मामरिङसम्म पुग्ने रोडको मरमत्तिको कार्य झट्टै गरिनु पर्ने र यो काम डनमा होइन तर वर्क अर्डर हातमा लिएर नै काम हुनु पर्ने निर्णय सभामा गरिएको जानकारी प्राप्त भएको छ। सभामा उपस्थित गाउँलेहरू र समाजका प्रतिनिधिहरूले अप्पर मामरिङलाई सदैव हेला होंचो हुने गरेकोले यसप्रति सबैजनाले असन्तुष्टि जाहेर गर्दै तिहारपछि अब काम झट्टै हुनु पर्ने र अबको काम कुनै हालतमा गुणस्तरीय र राम्रोसितले गरिनु पर्ने साथै काम गरेपछि आधातल्चो होइन तर काम एकदमै पूरा गरिनु पर्ने सभामा निर्णय गरिएको छ। या रोडको मरमत्तिको लागि गाउँलेहरू, समाजका प्रतिनिधिहरू र विभिन्न संघ संस्थाहरूले तिहारसम्मको समय पर्खने अनि तिहारपछि पनि काम नभएको खण्डमा गाउँलेहरू र समाज मिलेर कठोर निर्णय लिने भएको जानकारी प्राप्त भएको छ। उक्त सभालाई चालक संगठनक सचिव बसन्त राईले सञ्चालन गरेका थिए।











