बिराटनगर: जिल्ला प्रहरी कार्यालय, मोरङको नयाँ प्रमुखमा एसपी राजन लिम्बूलाई खटाउने निर्णय तीन दिनमै फेरिएको छ। गत शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालले मोरङ प्रमुखमा एसपी लिम्बूलाई पठाउने निर्णय गरेको थियो। तर, सोमबार लिम्बूको काज सरुवा रद्द गर्दै एसपी नारायणप्रसाद चिमरियालाई पठाउने निर्णय गरेको हो। यसअघि मोरङमा कार्यरत एसपी नवराज कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा झिकाइएको थियो। उनीमाथि आर्थिक अपचलन गरेको आरोपमा छानबिन भइरहेको छ। लिम्बू प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ)समेत भइसकेका प्रहरी अधिकृत हुन्। स्रोतकाअनुसार कांग्रेस नेताहरुले गृहमन्त्री रमेश लेखकसँग असहमति जनाएपछि लिम्बूको सरुवा रद्द भएको हो। लिम्बू ताप्लेजुङको इन्चार्ज हुँदा विसं २०२३ सेप्टेम्बरमा कोशी प्रदेशका कांग्रेस सांसद खगेनसिंह हाङगामले धम्की दिएका थिए। त्यसपछि कांग्रेस नेताहरु उनीसँग असन्तुष्ट रहेकोले तीन दिनमै सरुवा भएको हो।











