झापाको बाह्रदशीका हजामको यसरी भएको रहेछ प्रेम अनि हत्या

IMG-20241021-WA0201

झापा (बिर्तामोड): झापाको बाह्रदशी ५ फूलबारीका २२ वर्षीय राजेश हजामको ह*त्याकाण्डलाई खोतल्ने हो भने चलचित्रको कथाभन्दा कम रोचक छैन। विद्यालय पढ्दै गरेकी २० वर्षीया मुना मेचेलाई स्कुल बसका चालक र सहचालक दुवैले मन पराएपछि त्यहाँबाट उनीहरुको क्राइम स्टोरी सुरु भएको देखिन्छ।
बाह्रदशी-५ घोडामारा माइत भएकी मुना बाह्रदशीको कञ्चनज्योति अंग्रेजी विद्यालय पढ्थिइन्। त्यस स्कुल बसका चालक (हाल मुनाका श्रीमान्) अन भन्ने अशोक राजवंशी थिए भने मारिने राजेश हजाम थिए सहचालक। स्कुल बसमा चढेर विद्यालय आउजाउ गर्ने मुना कक्षा ७ मा पढ्दाखेरी नै अशोक र राजेश दुवैले मन पराएका थिए। हेर्दा राम्री र मानिससँग छिट्टै नजिकिने स्वभाव मुनाको थियो।
दुवैले मन पराए पनि आखिर अशोकले बाजी मारे। कक्षा ९ मा पुगेकी मुनालाई उनले पट्याएर प्रेम विवाह गरे। तर, राजेशसँग बोलचाल भइनै रह्यो।अशोक आफ्नो परिवारको लागि मरिमेट्दै गए। उनले मुना र आफ्ना पाँच वर्षका छोराको लागि बाह्रदशी-६ सिमलबारीमा जग्गा किनेर घर बनाइदिए अनि आफू कमाउन साउदी अरब लागे ।पाँच वर्षका नाबालक छोरासँग मुनालाई एकान्त घरमा बस्न गाह्रो हुन्छ भनेर उनका कान्छा देवर २० वर्षीय गणेश भनिने राहुल राजवंशी रुङ्न आउन गर्थे। घर रुङ्न आउने गरेका गणेशले भाउजूको मोबाइल चलाउने क्रममा राजेशसँग म्यासेन्जरमा कुराकानी भइरहेको थाहा पाए।
उनले आफू मुना बनेर कुराकानी गर्न थाले। त्यसक्रममा उनीहरुबीचको सबै कुरा थाहा पाएछन्। उनले सप्रमाण देखाएर सोधपुछ गरेपछि मुना वास्तविकता बताउन बाध्य भइन्।
‘त्यहाँबाट इगो सुरुवात भएको देखिन्छ’ अनुसन्धानको नेतृत्व गरेका इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले भने। विष्टका अनुसार इगो साँध्न राजेशका साथीसमेत रहेका गणेशले मई २८को राति करिब ११ः३० बजेतिर मेसेन्जरमा कल गरी उनलाई बोलाएका रहेछन्।
कल आएपछि उनी करिब ३ किलोमिटर टाढा मुनाको घर आएका थिए। ‘राति ११ बजेतिर कल आएर राजेश घरबाट गएको उनका परिवारका सदस्यहरुले बताएका छन्’, विष्टले भने, ‘त्यो कल गणेशकै हुनुपर्छ।’ सो दिनदेखि राजेश गायब भए। त्यसको तीन दिनपछि राजेशका परिवारले आफ्ना छोरा बेपत्ता भएको भनी इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिए। हुलियासहित निवेदन परेपछि सो दिनदेखि बिर्तामोड प्रहरीले खोजी सुरु गरेको थियो।
जब छिमेकी आशिष थापाका बुबाले मादक पदार्थ सेवन गरेका बेला राजेशलाई मारेको कुरा खुस्काए, त्यसपछि मात्र राजेश आफैँ बेपत्ता नभई लापत्ता बनाएको प्रहरीले आशंका गर्यो।त्यसपछि गहन अनुसन्धान थालेको प्रहरीले सबैभन्दा पहिला मुनाका भतिज १६ वर्षीय नरेश राजवंशीसँग सम्पर्क गरेको डिएसपी विष्टले बताए। नरेशले आफ्ना काका समीर राजवंशीको पनि संलग्नता रहेको बताएपछि प्रहरीले उनीमाथि पनि अनुसन्धान थाल्यो।
हत्याकाण्डकी मुख्य पात्र मुनालाई प्रहरीले केरकार गर्दा सुरुमा इन्कार गरेकी उनले पछि सबै कुरा बताएपछि राजेशको हत्या नै भएको हो भन्ने निष्कर्षमा प्रहरी पुग्यो। तर, प्रहरीलाई प्रमाण हात लागेको थिएन।
आरोपितहरुको बयानका आधारमा प्रहरीले मुनाको घर उत्खनन् गर्न थाल्यो। त्यस क्रममा राजेशको गन्जी, डोरी, सलको टुक्रा र दाउ भेट्टाएपछि प्रहरी उत्साहित बन्यो। तर, दुई दिनसम्म मुनाको घरआँगन खन्दासमेत राजेशको शव भेटिएन। घरबाट शव उत्खनन् गरी बिरिङको बगरमा गाडेको सुइँको पाएपछि प्रहरी टोलीले बिरिङको बगर खन्न थाल्यो। काँसघारी भएको बिरिङको बगर खन्दासमेत प्रहरीले प्रोपर स्पोर्ट लोकेसन थाहा पाउन सकिरहेको थिएन।
जब चौथो दिन आरोपितहरु समीर र मुनालाई दुबई भागेका गणेशसँग फोनमा कुराकानी गर्न लगाएर शव गाडेको ठाउँबारे यकिन गर्न लगाएपछि प्रहरीलाई सफलता मिलेको थियो।
हत्या भएको करिब ४ महिनापछि गत अक्टूबर ६को साँझ राजेशको शव भेटिएको हो।
घटना यसरी भयो
मई २८को राति गणेशले राजेशलाई बोलाएपछि आफ्नो घरमा चोर आयो भनेर उनले आफ्ना दाजु समीर र भतिज नरेशलाई समेत बोलाएका थिए। पहिला उनीहरुले राजेशलाई कुटपिट गरे। त्यसपछि सलले राजेशलाई हातखुट्टा बाँधेर चक्कु प्रहार गरी मारेको उनीहरुको बयान रहेको प्रहरीले बताएको छ। हत्यापछि उनीहरुले राजेशको शव रातभरि पलङको मुनि राखेका थिए। समीर, गणेश र नरेश आआफ्नो घर गएपछि त्यो रात मुनाले अर्को कोठामा सुतेर एक्लै कटाएकी थिइन्।
भोलिपल्ट दिनभरि पलङमुनि नै रहेको शवलाई उनीहरुले अर्को रात किचन कोठामा गाडेका थिए। अरु कोठा ढलाई भए पनि किचन कोठा ढलाई गरिएको थिएन। पछि शव त्यहाँबाट निकालेपछि भने उनीहरुले किचन पनि ढलाई गरेका थिए।
एक दिन त्यही किचनमा गाडिएको शवलाई अर्को रात उनीहरुले खनेर बिरिङको बगर लगेका थिए। मुनाका श्रीमान् अशोकले विदेशबाट ल्याएर राखेकोे सुटकेशमा हालेर शवलाई मोटरसाइकलमा समीर र गणेशले बिरिङको बगरमा लगेर गाडेका थिए।
ती दुवैले मिलेर शव गाढेका कारण ‘स्पोर्ट लोकेसन आइडेन्टिफाइ’ गर्नका लागि विदेशमा रहेका गणेशसँंग समीरलाई फोनमा कुराकानी गर्न लगाउनु परेको डिएसपी विष्टले जानकारी दिए। मुना र राजेशबीचको चक्करका बारेमा आक्रोशित भएका देवर गणेशसँग पनि मुनाको अनैतिक सम्बन्ध रहेको आशंका गरिएको छ। समान उमेरका र एउटै घरमा बस्दै आएका दुवैबीच सम्बन्ध भएर नै राजेशसँगको सम्बन्ध थाहा पाएर गणेश यति धेरै आक्रोशित बन्न पुगेको र घटना गराउन बल पुगेको अनुमान गरिएको छ।
इलाका प्रहरी कार्यालय बिर्तामोडको नेतृत्वमा गरिएको अनुसन्धानमा मातहतका इलाका प्रहरी कार्यालय घैलाडुब्बा र प्रहरी चौकी फूलबारीले सहयोग गरेका थिए। प्रहरीले राजेशको हत्यामा संलग्न मुना, उनका देवर समीर र भतिज नरेशलाई पक्राउ गरी कारबाही अघि बढाएको छ भने दुबई भागेका गणेशलाई झिकाउन उनको पासपोर्टलगायतका कागजात संकलन गरिरहेको जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement