काठमांडू: सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई रिहाइ गर्न माग गर्दै आज पनि पोखरा र चितवनमा प्रदर्शन भएको छ।
आइतबार पनि सो पार्टीले सहिदचोकमा प्रदर्शन भएको थियो। लामिछानेलाई पक्राउकै दिनदेखि गणना हुने गरी कास्की अदालतले ६ दिन म्याद थपेको छ। रास्वपा नेता कार्यकर्ताहरू शनिबारदेखि पोखरामा केन्द्रीत भएका छन्।
राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरेको भन्दै रास्वपाले सोमबार पोखराको पृथ्वीचोकमा प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरूले सहकारी पीडितलाई न्याय दे, माफियाहरूलाई कारवाही गर, भ्रष्ट सरकार मुर्दावाद लगायतका नारा लगाए। त्यस्तै उनको निर्वाचन क्षेत्र चितवन २ मा पनि ‘निलो क्रान्ति जिन्दावाद!’ लेखिएको प्लेकार्ड बोकेर समर्थक र कार्यकर्ता सडकमा उत्रिएका छन्।
सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि शुक्रबार काठमांडूबाट पक्राउ परेका लामिछानेलाई आइतबार कास्की अदालत पेस गरिएको थियो।
अदालतमा भएको थुनछेक बहसपछि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको छ। रास्वपाले भने नियतवस पार्टी सभापति लामिछानेलाई पक्राउ गरेको भन्दै निरन्तर आन्दोलन गर्ने जनाएको छ।











