लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबलको शीर्ष दुईमा सामेल लिभरपूल र म्यानचेष्टर सिटीले रोमाञ्चक जीत हासिल गऱ्यो। आइतवार राति खेलिएको म्याचमा लिभरपूलले चेल्सीलाई २-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड एनफील्डमा ४२ प्रतिशत पोजेशनको साथ खेल्ने लिभरपूलको निम्ति चेल्सीको चुनौती पार गर्नु सजिलो चाहिँ रहेन। मोहामेद सालाहले २९औं मिनटमा पेनल्टीबाट गोल गरी लिभरपूललाई बढ़त दिलाए। त्यसपछि चेल्सीले पनि मध्यान्तरको ठीक पछि स्कोर बराबरीमा पुऱ्यायो। चेल्सीबाट निकोलस जेक्सनले ४८औं मिनटमा गोल गरे। लिभरपूलबाट म्याचको निर्णायक गोल कुर्टिस जोन्सले छिराए। यस २३ वर्षीय फरवर्डले ५१औं मिनटमा गोल गरी होम टीमलाई जीत दिलाए। यस जीतपछि लिभरपूल ८ वटा म्याचमा २१ पोइण्ट्सको साथ प्रीमियर लीग टेबलको शीर्ष स्थानमा कायम रह्यो। यसरी चेल्सी १४ पोइण्ट्सको साथ छैटौं स्थानमा रहेको छ।
अन्य एउटा म्याचमा गत सीजनको च्याम्पियन म्यानचेष्टर सिटीले वूल्भ्सलाई २-१-ले पराजित गऱ्यो। यस अवे म्याचमा ७८ प्रतिशत पोजेशनको साथ खेल्ने म्यानचेष्टर सिटीलाई म्याच जित्न निक्कै मेहनत गर्नु पऱ्यो। एक समय त म्याच ड्र हुने तय लागिरहेको थियो तर डिफेण्डर जन स्टोन्सले इञ्ज्युरी टाइमको पाँचौं मिनटमा गोल गरेर सिटीलाई रोमाञ्चक जीत दिलाए। यसअघि होम ग्राउण्डमा वूल्भ्सको शुरुवात असल रह्यो अनि जोर्गन स्ट्राण्ड लार्सेनले सातौं मिनटमा गोल गरी आफ्नो टीमलाई बढ़त दिलाए। त्यसपछि जोस्को ग्वार्डिओलले ३३औं मिनटमा गोल गरी म्यानचेष्टर सिटीलाई १-१-को बराबरीमा पुऱ्याए। यस रोमाञ्चक जीतपछि सिटी २० पोइण्ट्सको साथ दोस्रो स्थानमा कायम रह्यो। यसरी वूल्भ्स केवल १ पोइण्टको साथ २०औं स्थानमा रहेको छ।










