गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले आगामी उपचुनाउको निम्ति आफ्ना उम्मेदवारहरूको नाम घोषणा गरेको छ।
आज गान्तोकको तिब्बत पथस्थित पार्टी मुख्यालयमा आयोजित एक पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ताहरूले उम्मेदवारहरूको नाम सार्वजनिक गरेका छन्।
आगामी उपचुनाउको निम्ति एसकेएमले सोरेङ च्याखुङ समष्टिमा आदित्य गोले तामाङ र नाम्ची सिङ्गीथाङ निर्वाचन समष्टिमा सतिशचन्द्र राईलाई पार्टीले आफ्नो उम्मेदवार बनाएको छ। पत्रकार सम्मेलनमा प्रवक्ता तथा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ र विकास बस्नेत, कोषाध्याक्ष प्रविण अग्रवाल, कार्यालय संयुक्त सचिव पार्टी मुख्यालय पंकज गिरी र साहित्यिक प्रकोष्ठका महासचिव पर्शु ढकाल आदिको उपस्थिति रहेको थियो।
प्रवक्ता जेकब खालिङले पार्टीको संसदीय बोर्डले विस्तृत छलफल गरेपछि पार्टी अध्यक्षसमक्ष सुम्पिएको प्रतिवेदनको आधारमा पार्टी अध्यक्षले पनि स्वीकृति प्रदान गरेपछि यी नामहरूमा मोहोर लागेको जानकारी गराए। पार्टीको निर्णय नै सर्वोपरी रहेको बताउँदै पार्टी र जनताको हितमा सबैले काम गर्नुपर्ने उनले मन्तव्य जाहेर गरे। उनले पार्टी उम्मेदवारहरूको नामको घोषणा पनि गरे।
प्रवक्ता खालिङले पार्टी अध्यक्षप्रति हार्दिक आभार व्यक्त गर्दै यी उम्मेदवारहरूलाई अग्रिम शुभकामना दिए। उनले गत २०२४ को आम चुनाउमा पार्टीलाई विजयी गराएपछि राजीनामा दिएर पार्टीप्रति ठूलो समर्पण दर्साएकी पूर्व विधायक कृष्णा कुमारी राईप्रति हार्दिक आभार व्यक्त गरे। यसैगरी उनले संसदीय बोर्डका सम्पूर्ण सदस्यहरूलाई पनि धन्यवाद दिए।
सोरेङ च्याखुङ समष्टिका पूर्व विधायक आदित्य गोलेलाई पुन: दोस्रोचोटि पार्टीले टिकट दिएको बताउँदै उनको नेतृत्वमा सोरेङ च्याखुङ समष्टिमा अझ विकास भएर जाने विश्वास व्यक्त गरे। यसैगरी नाम्ची सिङ्गीथाङ समष्टिको उम्मेदवारको रूपमा पार्टीका वरिष्ठ नेतृत्व सतिशचन्द्र राईले पनि बहुमतले विजयी हासिल गर्ने उनले विश्वास व्यक्त गरे।
आज घोषित भएका उम्मेदारहरूलाई एकबद्व भएर सहयोग र समर्थन जनाउन समस्त पार्टी कार्यकर्ताहरूलाई प्रवक्ता तथा मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेतले अपील गरे। उनले गत आम चुनाउमा जसरी एसकेएम उम्मेदवारहरूलाई बहुमत दिएर विजयी गराएका थियो, सोही अनुसार आगामी उपचुनाउमा पनि भारी मतले विजयी तुल्याउन दुवै समष्टिका जनतालाई हार्दिक आह्वान पनि गरेका छन्।