गान्तोक: सिक्किम चेस एसोसिएशनको पहलमा आजदेखि राजधानी गान्तोकस्थित जनता भवनमा नर्थ इस्ट टीम चेस प्रतियोगिता शुरू भयो। आजदेखि शुरू भएको यस चार दिवसीय प्रतियोगिताको फाइनल आगामी २३ अक्टोबरको दिन सम्पन्न हुने भएको छ। यस प्रतियोगिताको उदघाटन राज्यका शिक्षा एवं खेलकूद विभाग मन्त्री राजु बस्नेतले गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री राजु बस्नेतले यस प्रतियोगितामा सहभागी बनेका सबै खेलाडीहरूलाई शुभकामना दिँदै सबैलाई स्वागत जनाए। उनले खेलाडीहरूलाई खेलको साथै सिक्किम राज्यको विभिन्न स्थानको भ्रमण गरेर आनन्द उठाउनु पर्ने सुझाउ दिए। खेलमा जित र हार हुन्छ तर खेलमा सहभागिता जनाउनु नै सबै भन्दा महत्वपूर्ण रहेको अवगत गराए। खेलकूदको क्षेत्रमा उत्तरपूर्वी राज्य धेरै अघि रहेको बताए।
सोही प्रकारले सिक्किम चेस एसोसिएशनका अध्यक्ष महेन्द्र ढकालले पत्रकारहरूसँग कुराकानी गर्दै यस प्रतियोगिता राज्यमा पहिलोपल्ट हुन गइरहेको बताए। उक्त प्रतियोगितामा उत्तरपूर्वी राज्यका पाँच पाँच जना खेलाडीहरूले सहभागिता जनाएको अवगत गराए। उनको भनाइ अनुसार सिक्किमले चेस खेलमा छोटो अवधिमा धेरै विकास गरेको र अहिले राज्यबाट राम्रा राम्रा खेलाडीहरू उत्पादन भइसकेको बताए। यस प्रतियोगितामा सिक्किम राज्यबाट दुईवटा समुहले सहभागिता जनाएका छन्, जसमा 11 वर्ष भन्दा मुनिका एउटा ग्रुपलाई पनि अवसर प्रदान गरेको जानकारी गराए। उक्त प्रतियोगितामा मिजोरमका खेलाडीहरूले सहभागिता जनाउन नसकेको कारण सिक्किम राज्यले दुईवटा टीमलाई खेलाउने निर्णय लिएको ढकालले जानकारी गराए।