कालेबुङ: सम्थार स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित छेडुप लामा स्मृति सम्थार गोल्ड कप आमन्त्रणी फूटबल टुर्नामेण्टमा आइतवार खेलिएको तेस्रो क्वार्टर फाइनल म्याच चरम एकतर्फी रह्यो। सम्थार खेल मैदानमा आज भएको म्याचमा सेल्फी डाँड़ा पन्बु (एसडीपी)-ले सिलगढ़ी युनाइटेड फूटबल क्लबविरुद्ध ५-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट देवाशिष राई र कुञ्जमान थापाले २-२ गोल गरे। यसमा देवाशिषले ४२औं र ३५औं मिनटमा गोल गरे। यसरी कुञ्जमानले नवौं र ४९औं मिनटमा गोल गरे। अन्य एउटा गोल नोरजांगले ५९औं मिनटमा गरे। विजेता टीमका देवाशिष राईलाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २३ र २५ अक्टोबरमा हुनेछ। यसरी फाइनल २७ अक्टोबरमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।