सिलगढी: प्रधानमन्त्री नरेन्द्र मोदीले बागडोग्रा एयरपोर्टको नयाँ टर्मिनल भवनको भर्चुअल शिलान्यास गरेका छन्। यस क्रममा केन्द्रीय राज्यमन्त्री शान्तनु ठाकुर, सांसद राजु बिष्ट, सिलगढीका विधायक शंकर घोष, मेयर गौतम देव र अन्य भाजपा नेताहरू उपस्थित थिए। प्रधानमन्त्री नरेन्द्र मोदीले बनारसको कार्यक्रमबाट बागडोग्रा एयरपोर्टको टर्मिनल भवनको शिलान्यास गरे। यस सम्बन्धमा सांसद राजु विष्टले सांसद पदको शपथ लिँदा बागडोग्रा विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउने योजना बनाएको बताए। उनले भने, ‘यो साकार हुन गइरहेको छ। बागडोग्रा एयरपोर्ट देशको सबैभन्दा व्यस्त एयरपोर्टहरू मध्ये एक हो।‘ नयाँ टर्मिनल भवनको काम सम्पन्न भए वार्षिक करिब १ करोड मानिसले आवतजावत गर्नसक्ने उनले बताए।
जसका कारण दार्जीलिङ, तराई, डुवर्सलगायत पश्चिम बंगालका जनता लाभान्वित हुनेछन्। यसका साथै पर्यटनमा पनि सुधार आउने उनको भनाइ छ। यसैबीच केन्द्रीय राज्यमन्त्री शान्तनु ठाकुरले यस विमानस्थलमा नयाँ टर्मिनल बनेमा सर्वसाधारण र वायुसेनालाई धेरै फाइदा हुने बताए। उनले राज्य सरकारले सबै प्रकारले सहयोग गरे आम जनताको हितमा थप काम गर्न सकिने बताए। मेयर गौतम देवले आफू मुख्यमन्त्रीको प्रतिनिधि भएर कार्यक्रममा आएको बताए। विमानस्थलका लागि राज्य सरकारले जग्गा दिएको छ। उनले सरकारी कार्यक्रममा पार्टीको नारा लगाउनु उचित नहुने बताए।