चिनियाँ पाहुना टोली बूढानीलकण्ठपछि खुमलटारमा

IMG-20241020-WA0176

काठमांडू: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टीको छिङहाइ प्रान्तीय कमिटीका सचिव तथा केन्द्रीय सदस्य छन् काङले शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा नेपाल र चीनबीच भएका यसअघिका समझदारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष प्रचण्डले चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताएका छन्।
दाहाल निवास खुमलटारमा भएको भेटवार्तामा उनले नेपालको आन्तरिक राजनीतिमा केही उतारचढाव आए पनि आफ्नो पालामा दुई देशबीच भएका समझदारी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उनको सचिवालयले जनाएको छ। आफूहरुले गणतन्त्र स्थापनाका लागि थालेको जनयुद्धका बेलामा चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास र माओत्सेतुङका रचनाहरुको धेरै अध्ययन गरेको उल्लेख गर्दै भने, ‘नेपाली विशेषतासहितको समाजवाद स्थापनाका लागि चिनियाँ समाजवादबाट धेरै कुरा सिक्न आफ्नो पार्टी इच्छुक छ।’
प्रत्युत्तरमा सचिव काङले दुई देशबीचको मित्रता थप बढाउनुपर्ने बताउँदै चीन नयाँ विकासको चरणमा रहेकाले नेपालले पनि चिनियाँ विकासको लाभ लिनसक्नेतर्फ सुझाए।
चीनको विकासको मुख्य कारण चिनियाँ कम्युनिष्ट पार्टी भएको उल्लेख गर्दै उहाँले आफ्नो पार्टीका जुनसुकै नेताले भ्रष्टाचार लगायतका गल्ती गर्दा कारवाही गरेकाले चिनियाँ जनताको विश्वास बढेको बताए। भेटवार्तामा माओवादी केन्द्रका तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायकणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिवद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतलगायतको उपस्थिति थियो।
चिनियाँ प्रतिनिधिमण्डलको तर्फबाट सचिव काङ, नेपालस्थित चिनियाँ राजदूत छन् सोङ्गलगायत प्रतिनिधिमण्डलका सदस्यहरुको उपस्थिति थियो। यसअघि उक्त टोलीले नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको थियो।
पाहुना टोली शनिबार बिहान काठमांडू आइपुगेको हो भने सोमबार दिउँसो स्वदेश फर्कने छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement