झापा (भद्रपुर): मलेसियाले आफ्नो नागरिकसरह नेपालीसहित विदेशी श्रमिकका लागि न्यूनतम तलब १७ सय रिंगेट (करिब ५३ हजार रुपैयाँ) निर्धारण गरेको छ।
मलेसियन प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इब्राहिमले आगामी आर्थिक वर्ष (२०२५) को बजेट पेस गर्दै श्रमिकको न्यूनतम तलब बढाएको घोषणा गरेका हुन्। यो तलबमान आउँदो फेब्रुअरी १ देखि कार्यान्वयनमा आउनेछ।
यसअघि मलेसियामा श्रमिकको न्यूनतम तलब १५ सय रिंगेट (४७ हजार रुपैयाँ) कायम गरिएको थियो। मलेसियाले नयाँ तलब दुई वर्षपछि बढाएको हो ।
बढेको तलब घरेलु श्रमिकबाहेक सबै क्षेत्रमा लागु हुने प्रधानमन्त्री इब्राहिमको भनाइ छ। मलेसियाको न्यूनतम पारिश्रमिक नीतिअनुसार राष्ट्रियताका आधारमा कुनै पनि श्रमिकले पाउने न्यूनतम तलबमा भेदभाव गर्न पाइँदैन।
यो सन् १९९७ मा जारी भएको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को समान पारिश्रमिक महासन्धि (१००) अनुसार मिल्दोजुल्दो छ।
मलेसियामा तीन लाख ९९ हजार ६ सय १४ जना नेपाली कार्यरत छन्। जसमा १० हजार ९ सय ५७ जना महिला छन्।