मोरंग (विराटनगर): मोरङ, झापा र उदयपुरबाट लागुऔषध तथा प्रतिबन्धित औषधिसहित ७ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन), गाँजा र प्रतिबन्धित औषधि बरामद भएको छ। मोरङको उर्लाबारी नगरपालिका-६ बाट प्रतिबन्धित औषधि ट्रमाडोल र स्पासपेनसहित ३० वर्षीय प्रकाश विक र ५१ वर्षीय काजीमान सार्कीलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाको साथबाट ट्रमाडोल र स्पासपेन २ हजार १० क्याप्सुल बरामद भएको छ। त्यस्तै, उदयपुरको त्रियुगा नगरपालिका-१२ का २० वर्षीय रुपन लिम्बू, २८ वर्षीय असिम राई, ३६ वर्षीय सञ्जीव थापा र त्रियुगा–१३ का ३५ वर्षीय मिलन थापा पक्राउ परेका छन्।
पक्राउ परेकाको साथबाट स्पासपेन ५० क्याप्सुल र गाँजा १ सय ५० ग्राम बरामद भएको प्रहरीले जनाएको छ। यता झापाको भद्रपुर नगरपालिका–३ बाट २५ वर्षीय विष्णु राजवंशी पक्राउ परेका छन् ।हल्दिबारी गाउँपालिका–२ का राजवंशीलाई १ ग्राम ९ सय ५० मिलिग्राम ब्राउन सुगरसहित आज पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।









