खरसाङ: आज खरसाङको गिध्द पहाड़स्थित सर्टिक हाउसमा ५ जना मनोनित सभासदहरू अनि एकजना निर्वाचित सभासदको सपथ ग्रहण समारोह सम्पन्न गरिएको छ। मनोनित सभासदहरू क्रमैले पावल सिमिक, नफिसुल हक, चन्द्रबहादुर गुरुङ, बिनीता खम्बु राई र प्रणाम रसाइली सामेल छन्। त्यसबाहेक तकलिङ पेशोक समष्टीको निर्वाचित सभासद मणिप्रसाद राईले पनि आज सपथ ग्रहण गरेका छन्। उनले गत १२ जुलाईको दिन अस्वस्थको कारणले सपथ ग्रहण गर्न सकेका थिएनन् र आज ५ जना मनोनित सभासदहरूसितै शपथ लिएका छन्। आज जीटीएको ५ जना मनोनित सभासदहरू लगायत एकजना निर्वाचित सभासद गरी जम्मा छजना सभासदहरूलाई जलपाईगुडी डिभिजन कमिशनर तथा जीटीए चुनावको चुनाव अधिकारी एके बर्ध्दनले सपथ ग्रहण गराएका छन्।

यस कार्यक्रममा स्वागत सम्भाषण दार्जिलिङ जिल्ला शासक एंव जीटीएको मुख्य सचिव एस पुनमबालमले राखेका थिए भने धन्यवाद ज्ञापन जीटीएको चेयरम्यान अञ्जुल चौहानले राखेका थिए। कार्यक्रममा जीटीएका कार्यकारी सभासदहरू, सभासदहरू, खरसाङका महकुमा शासक आईएएस एजाज अहमद, मिरिक नगरपालिकाको चेयरम्यान एलबी राई लगायत अन्यहरू उपस्थित रहेका थिए।