दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनद्वारा दार्जिलिङको बन्द सोम चियाबारी खोलाउन त्रिपक्षीय वार्ताको मागमा सह श्रम आयुक्तलाई पत्रचार गरिएको छ। सोम चियाबारी अहिले बन्द अवस्थामा रहेको छ। चियाबारीका प्रबन्धकले आफू सुरक्षित नरहेको कारण देखाई बगान बन्द गरेर गएका थिए। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका दार्जीलिङ महकुमा समितिका अध्यक्ष आलोक कान्तमणि थुलुङको नेतृत्वमा एउटा टोलीले सोम चियाबारीका श्रमिकहरूसँग भेट गरेका थिए। भेटघाटको समय कमानको वर्तमान स्थितिमाथि विचार विमर्श गरिएको थियो। श्रमिकहरुले पार्टीका शीर्ष नेतृत्वलाई बगान खोलिदिन सहयोग गर्ने निवेदन गरेका थिए।
त्यही सभामा लिइएको निर्णय अनुसार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका ट्रेड युनियन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनले दार्जीलिङ शाखाका एएलसी-लाई वर्तमान कमानको स्थिति अनि श्रमिकहरुको आग्रहलाई केन्द्र गर्दै त्रिपक्षीय बैठक बोलाउने आग्रहकाे साथ पत्राचार गरेका छन्। श्रमिकहरु चिया बगान खोल्ने पक्षमा रहेको पत्रमा जनाइएको छ। त्यसरी नै ट्रेड युनियनले संगठनको गतिविधिलाई निरन्तरता दिनु सोम चिया बगानको तीनवटै विभागको निम्ति कृष्ण शर्मालाई संगठनको संयोजक पदमा नियुक्त गरेको छ।









