दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको दार्जीलिङ महकुमा समिति अध्यक्षद्वारा बन्द सोम चिया बगानको भ्रमण गरेका छन्। भागोप्रमो दार्जीलिङ महकुमा समिति अध्यक्ष साथै सोम तकबर समष्टि अध्यक्ष आलोक कान्तमणि थुलुङले बन्द सोम चिया बगानको स्थितिको जानकारी लिन सोम चिया बगानको भ्रमण गरेका छन्। गत केही दिनदेखि बन्द रहेको सोम कमानमा तीनवटा विभागहरू छन् भने यहाँको बासिन्दाहरुको मुख्य आर्थिक स्रोत नै चिया बगानमाथि निर्भर छ। बीस प्रतिशत पूजा बोनसको मागमा पहाड़भरि नै धर्ना प्रदर्शन अनि जुलुसहरु भएको समय यहाँ पनि राजनैतिक फाइदाको लागि बगानको चिया कारखानामा दखल साथै प्रबन्धकहरुसंग अभद्र व्यवहार गरेको कारण प्रबन्धन पक्षले आफ्नो ज्यानको सुरक्षा नभएको भन्दै कमान बन्द गरेको बताइएको छ। अहिले घडी सोम चिया बगान बन्द अवस्थामा नै छ। बन्द सोम चियाबगानका तीनैवटा विभागका श्रमिकहरुले कमान खोल्न धेरै कोशिष गरे पनि कुनै शिप नलाग्दा अन्त्यमा दार्जीलिङ पहाडको सत्तासीन राजनैतिक दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई यस विषयमा हस्तक्षेप गर्दै बन्द कमान खोली दिन अनुरोध गरे। जसको फलस्वरूप भागोप्रमो पार्टीले यस विषयलाई गम्भीरतापूर्वक लिँदै तत्काल दार्जीलिङ महकुमा समिति अध्यक्ष आलोक कान्तमणि थुलुङ साथै महकुमा समिति सदस्य विप्लव खम्बू राई बन्द सोम चियाकमानको वर्तमान अवस्था बुझ्न अनि बन्द कमान झट्टभन्दा झट्ट खोलाउन के कस्तो उचित पहल गर्नु पर्ने त्यो विषयमा कदम बढाउन सोम कमानको भ्रमण गरेका छन्। सोम प्रथम विभाग, दोस्रो विभाग अनि सोम तेस्रो विभाग तीनैवटा विभागको श्रमिकहरु अनि सोम सिङ्ताम ग्राम पञ्चायत प्रधान सरिता राई, पञ्चायत सदस्य दौलत परियार साथै प्रत्येक शाखाका सभापति/सचिवहरुको उपस्थितिमा एउटा सभा सोम सार्वजनिक भवनमा सम्पन्न गरियो। सभामा कमान के कारणले अनि कसको कारणले कसरी बन्द भयो त्योबारे श्रमिकहरुले स्पष्ट पारेका थिए। श्रमिकहरूले गुनासो पोख्दै भने, ‘बगानका केही बाट्ठेहरूले बगान बन्द गराएको हो। अहिले कमान बन्द भएपछि उनीहरु कुन दुलोमा छ? अघि आएर किन बोल्दैनन्? श्रमिकको हितबारे ठूलो ठूलो कुरा गर्ने मुखहरु कता हराए? ‘भन्दै आक्रोशित श्रमिकहरुले आफ्नो गुनासो पोखेका छन्। जान्नमा आए अनुसार ती केही व्यक्तिहरु जसको कारण कमान बन्द भयो, उनीहरूले प्रबन्धन पक्षलाई सुटुक्कै माफी पत्र पनि पठाएको जानकारी प्राप्त भएको छ भने पत्रमा सम्पूर्ण दोष भने निर्दोष श्रमिकहरुमाथि लगाइएको छ।
यस्तो अर्थ न बर्थको र स्वार्थी व्यक्तिहरूले गर्दा नै हाम्रो बगान बन्द भएको हो, जुन बगान ब्रिटिश शासनदेखि अहिलेको घडीसम्म कहिले बन्द भएको थिएन। योहरुले गर्दा सोम कमानले यस्तो दिन देख्नु पर्यो भन्दै श्रमिकवर्गले रिस पोखेका छन्। तर अब भने पहाडको शक्तिशाली दल अनि सत्तासीन दल भागोप्रमोको सहयोगमा नै कमान खोल्ने ईच्छा जाहेर गरेको सम्पूर्ण सोम कमानवासीको भनाई छ।
यस विषयमा भागोप्रमो दार्जिलिङ महकुमा समितिको अध्यक्ष आलोककान्तमणि थुलुङले भने, ‘भागोप्रमो गणतन्त्र अनि अनुशासनमा विश्वास राख्ने पार्टी हो। श्रमिकहरुको हितको निम्ति पार्टीको आफ्नै पंजीकृत श्रमिक संगठन छ र सोम कमान विषय मैले हाम्रो केन्द्रिय श्रमिक संगठनलाई जनाई सकेको र केन्द्रिय श्रमिक संगठनले क्षेत्रीय श्रम कार्यालय अनि अतिरिक्त श्रम आयुक्त, दार्जीलिङलाई पत्रचार गरिसकेको छ।’
अब चाँडै त्रिपक्षीय वार्ता डाकिने अनि कमान सुचारु रूपले चल्ने आश्वासन पनि आलोक कान्तमणि थुलुङले श्रमिकहरुलाई दिएका छन्। वार्तामा अन्य केही पञ्जीकृत श्रमिक संगठनलाई पनि निमन्त्रण गर्ने बताएका छन्।
अन्त्यमा सोम कमानमा भागोप्रमोको श्रमिक संगठनलाई अझ मजबूत अनि संगठित गर्न सोम तेस्रो विभाग निवासी कृष्ण शर्मालाई पार्टीको तर्फबाट सर्वसहमतिको साथमा सोम चिया बगानको तीनैवटा विभागको संयोजक चयन गरिएको छ। कृष्ण शर्मा समष्टिमा मात्र होइन पहाडको नै एक वरिष्ठ श्रमिक नेता स्व पीटी शेर्पासंग काम गरिसकेका एक कर्मठ श्रमिक नेता हुन्। उनलाई कमान विषयमा धेरै ज्ञान रहेको अनि आफै पनि एक श्रमिक रहेको बताइएको छ।
बन्द सोम कमान अब चाँडै नै खोलिने छ।









