गाउँपालिकाको पर्यटकीय स्थलबाट एक करोड बढीको आम्दानी

IMG-20241019-WA0187

म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलबाट चालु आर्थिक वर्षको सुरुमै एक करोड २७ लाख ६३ हजार रुपियाँ आन्तरिक आम्दानी गरेको छ। घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, खयरलेक, रुप्से, नारच्याङ र महभिर झरना तथा विभिन्न ठाउँका तातोपानी कुण्ड रहेको यस गाउँपालिकाको वडा नं ४, नारच्याङमा आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालसमेत अवस्थित छ।
गाउँपालिकाले खोप्रालेक, मोहरेडाँडा, रुप्से छहरा, घोडेपानी, अन्नपूर्ण आधार शिविरको छोटेपा र हुमखोलालगायतका ठाउँमा रहेका होटेल, रेस्टुरेन्ट तथा कफी सपबाटसमेत व्यवसाय कर सङ्कलन गरेर आन्तरिक आम्दानी गर्दै आएको छ।
गाउँपालिकाभित्र रहेका मुख्य पर्यटकीय स्थल घोडेपानीको पुनहिल, भुरुङतातोपानी कुण्ड, पाउद्वार तातोपानी कुण्ड र रातोपानी तातोपानी कुण्डमा क्यान्टिन सञ्चालन र प्रवेश शुल्क सङ्कलनका लागि आय ठेक्कामा लगाएर पालिकाले आन्तरिक आम्दानी गरेको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माका अनुसार अन्नपूर्ण-६ स्थित प्रसिद्ध पर्यटकीय स्थल पुनहिललाई ४० लाख, वडा नं २ को भुरुङतातोपानी कुण्डलाई ५६ लाख २५ हजार रुपियाँमा ठेक्का लगाइएको छ। पाउद्वार तातोपानी कुण्डलाई २८ लाख ७६ हजार र वडा नम्बर ६ स्थित रातोपानी तातोपानी कुण्डलाई २ लाख ६१ हजार रुपियाँमा आय ठेक्कामा लगाइएको उनले जानकारी दिए।
होटल हटस्प्रिङ प्रालि अन्नपूर्ण-२ सँग दुई पर्यटकीय स्थल पुनहिल र भुरुङतातोपानी कुण्ड सञ्चालन, क्यान्टिन र प्रवेश शुल्क सङ्कलन गर्ने अनुमतिसहित गाउँपालिकाले सम्झौता गरेको छ।
कालीगण्डकी रुफटप रेस्टुरेन्ट अन्नपूर्ण-२ ले पाउद्वार तातोपानी कुण्ड र एभरेस्ट होटेल अन्नपूर्ण-६ ले रातोपानी तातोपानी कुण्ड सञ्चालनको अनुमति पाएको गाउँपालिकाले जनाएको छ। अग्रिम रूपमा रकम जम्मा गर्नेलाई कार्यविधि अनुसार १० प्रतिशत छुट दिएर आय ठेक्का सम्झौता गरिएको छ।
पर्यटकीय स्थललाई व्यवस्थित रूपमा सञ्चालन गर्नुका साथै पालिकाको आन्तरिक आम्दानीसमेत वृद्धि गर्न आय ठेक्कामा लगाइएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउछन। उनले भने, “पर्यटकीय स्थलमा प्रवेश शुल्क, कफी सप तथा रेस्टुराँ सञ्चालन गर्न एक वर्षका लागि अनुमतिसहित आय ठेक्का सम्झौता गरेका छौँ। पुनहिलबाहेकका अन्य पर्यटकीय स्थलमा चालु आवको सुरुमै ठेक्का सम्झौता भएको थियो। चौथो पटकसम्म सूचना प्रकाशित गरेर पुनहिलको पनि सम्झौता गरेका छौँ।”
गाउँपालिकाभित्र रहेका पर्यटकीय स्थलको पूर्वाधार विकास, प्रचारप्रसार र प्रवर्धन गर्दै स्थानीयवासीको जीवनस्तर सुधारसँगै गाउँपालिकाको आन्तरिक आम्दानी बढाउनतर्फ जोड दिइएको गाउँपालिकाका अध्यक्ष पुनले बताए। अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविरमा पर्यटकीय पूर्वाधार निर्माण र प्रचारप्रसार गरेर उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने लक्ष्य रहेको उनले बताए।

About Author

Advertisement