खरसाङ: क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी(क्रामाकपा) खरसाङ आञ्चलिक कमिटीद्वारा खरसाङ खण्ड विकास अधिकारीमार्फत् पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पहाड़का विभिन्न समस्याहरू विषय लिएर यसको समाधान गर्ने मांगमा सात सूत्रीय मांग पत्र सुम्पिएका छन्। यसको जानकारी खरसाङमा एक पत्रकार सम्मेलन गरेर पार्टीको खरसाङ आञ्चलिक समितिका सचिव अमर राई, केन्द्रिय समिति सदस्य उद्धव खनाल अनि आनन्द घतानीले दिएका छन्। उनीहरूले बताए अनुसार विशेषगरी पहाड़को शिक्षक नियुक्तिमा पारदर्शिता नभएको तथा यसमा व्यापक भ्रष्ट्रचार भएको जनाउँदै यसको अविलम्ब सीबीआई अनि ईडीमार्फत जाँच हुनुपर्ने मांग गरिएको छ। त्यसरी नै शिक्षामा पारदर्शिता, राजनैतिक हस्तक्षेप रोक्नको निम्ति स्कूल बोर्डमा विपक्षी राजनैतिक पार्टीका शिक्षकहरूलाई पनि बोर्डको सदस्य बनाउनुपर्ने मांग गरिएको छ। ज्ञापनमा युगौंदेखि साट्ठी प्रतिशत(फरेस्ट बस्ती), सिन्कोना बगान अनि चियाबारीमा बस्दै आएका अनि श्रमिकहरूले कमाउँदै ल्याएका घर-घड़ेरी र जमीनको मालिकनामा हक प्रदान गर्न पर्जापट्टा झट्टै प्रदान गर्नुपर्ने, पहाड़को साट्ठी प्रतिशत जनसाधरण ग्रामीण क्षेत्र(खास महल, फरेस्ट बस्ती, चियाबारी, सिन्कोना बगान) मा बस्छन्, उनीहरू गत १८ वर्षदेखि विभिन्न सहुलियत र अधिकारदेखि वञ्चित छन्। उनीहरूलाई उचित सहुलियत, अधिकार दिलाउन हो भने अतिशीघ्र त्रिस्तरीय पञ्चायत चुनाउ गराउनुपर्छ, जनसंख्या र भौगोलिक असुविधालाई ध्यानमा राख्दै ग्राम पञ्चायत र खण्ड विकास क्षेत्रलाई विभक्त गरी संख्या बढ़ाउनुपर्छ, वर्तमान सयदिने रोजगार एमजीएनआरएस बन्द भएर यससित सम्बन्धित श्रमिकहरूले आर्थिक असुविधा भोग्नपरिरहेछ। यसर्थ उनीहरूको श्रमको दाम झट्टै पाउनुपर्छ अनि यस योजनामा कहीँ कतै आर्थिक अनियमितता या भ्रष्ट्रचार भए त्यसको उचित न्यायिक जाँच हुनुपर्छ, प्रधानमन्त्री आवास योजना एवं बंगालको गिताञ्जली योजना पहाड़मा पनि लागु हुनुपर्छ भन्ने जस्ता मांगहरू गरिएको बताएका छन्। उनीहरूले यसै बीच खण्ड विकास अधिकारीसँग सौहाद्रपूर्ण वातावरणमा कुराकानी भएको जनाउँदै यसै अवधि कालीझोड़ालाई छुट्टै ग्राम पञ्चायत बनाउने तथा अन्य विभिन्न विषयहरूबारे पनि अवगत गराएको जनाउँदै खण्ड विकास अधिकारीले पनि यसलाई गम्भीरतापूर्वक लिएर यसको समाधानको दिशामा पहल गरिने जानकारी दिएको जनाएका छन्।