गान्तोक: सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चाको प्रवक्ता, प्रचार प्रसार र सोसियल मिडिया शाखाका नवनिर्वाचित कार्यकारीहरूको एउटा बैठक आज प्रवक्ता जेकब खालिङको गान्तोक, भीआइपी कलोनीस्थित सरकारी आवासमा सम्पन्न भयो। बैठकलाई वरिष्ठ प्रवक्ता सीपी शर्माले अध्यक्षता गरेका थिए भने प्रवक्ताहरू जेकब खालिङ, विकास बस्नेत, कृष्ण लेप्चा, योगेन तामाङ, कविता सापकोटा, सञ्जय दिलपाली राई र प्रचार प्रसार अध्यक्षहरू श्रीमती रञ्जना प्रधानको विशेष उपस्थिति रहेको थियो। बैठकको उद्देश्य नवनियुक्त कार्यकारी सदस्यहरूको परिचय आदनप्रदान साथै पार्टी र सरकारको हात बलियो पार्न गरिनुपर्ने कामहरूमाथि चर्चा गर्नु रहेको थियो। आपसी तालमेल र सहकार्यमाथि पनि बैठकमा विशेष चर्चा भएको थियो।
बैठकलाई सम्बोधन गर्दै प्रवक्ता जेकब खालिङले पार्टी र नेताको नीति अनि सिद्धान्तलाई कसरी सिक्किमका जनजनसम्म पुऱ्याउन सकिन्छ र यसको निम्ति विशेष गरेर प्रचार प्रसार शाखाले कस्तो भूमिका निभाउनु पर्ने भन्ने बारेमा आफ्नो विचार राखे। यसरी नै प्रवक्ता विकास बस्नेतले पार्टीका विभिन्न प्रचार तन्त्रमा तालमेल र सहकार्यमाथि विशेष जोर दिँदै सबैले आ-आफ्नो जिम्मेवारी ऊर्जावान अनि इमान्दर भएर पूरा गर्नुपर्ने बताए।
यसरी नै वरिष्ठ प्रवक्ता सीपी शर्माले पार्टी अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङको लगनशिलता, इमान्दारिता र ऊर्जाबाट प्रेरणा लिएर पार्टीका प्रचार तन्त्रका सबै सदस्यहरूले पनि पार्टी र सरकारको निम्ति त्यसरी नै काम गर्नुपर्ने कुरामा जोर दिए। उनले विशेष गरेर सरकारले गरेका जनमुखी अनि विकासमुखी कामहरूलाई राज्यका प्रत्येक व्यक्तिसम्म पुऱ्याउनुपर्ने बताए। यसको साथै शर्माले आगामी १३ नोभेम्बरको दिन सम्पन्न हुने राज्यका दुईवटा समष्टिको उप-चुनाउमा पनि एसकेएम पार्टीले सहज जीतको साथ राज्य विधानसभामा ३२ मा ३२ आसन आफ्नो बनाउने दावी पनि गरे।