गान्तोक: आगामी नोभेम्बरमा सम्पन्न हुने सिक्किम विधानसभाको उपचुनाउ तयारीलाई लिएर नाम्ची जिल्लाकी जिल्लापाल अनुपा तामलिङको अध्यक्षतामा एक सभा सम्पन्न भयो। उक्त सभामा विशेष गरेर नाम्ची जिल्लाको नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रमा सम्पन्न हुने उपचुनाउलाई लिएर जिल्लापालले समन्वन्धित अधिकारीहरूलाई लिएर एक समन्वय आयोजना गरे। सभालाई सम्बोधन गर्दै जिल्लापाल तामलिङले प्रभावकारी मानवशक्ति व्यवस्थापनको आवश्यकता, विभिन्न विभागबाट दक्ष जनशक्ति पुरा गर्ने विषयमा छलफल गरिन्। उनले निर्वाचनका क्रममा कर्मचारीलाई आफ्नो भूमिकाका लागि तयार गर्न समयसापेक्ष तालिम र मार्गदर्शनको आवश्यकतामा जोड दिइन्।
सभामा चुनाउको समयमा सवारी साधन परिचालन, इलेक्ट्रोनिक भोटिङ मेसिन (इभीएम) व्यवस्थापन, कानून व्यवस्था मर्मत, खर्च अनुगमन, आवास व्यवस्था, मिडिया प्रमाणीकरण तथा अनुगमन समिति लगायत अन्य विषयमा पनि छलफल गरिन्। यसबाहेक, जिल्लापालले भारतको चुनाउ आयोगद्वारा निर्धारित दिशानिर्देशहरूको पालना गर्न जोड दिँदै सबै अधिकारीहरूलाई चुनावी प्रक्रियामा सतर्क रहन सल्लाह दिएकी छन्।









