साहित्यकार प्रवीण खालिङको ‘चिया गफ’ ‘विमल गुरुङ कृति पुरस्कार’ का लागि शिर्ष १० कृतिमा सामेल

IMG-20241018-WA0293

गान्तोक: नेपालको धरान–१८ बुद्धचोकस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘विमल गुरुङ कृति पुरस्कार–२०८०’ कालागि छनौट गरेको दश श्रेष्ठ कृतिहरूको नाम शुक्रबार सार्वजनिक गरेको छ। जसमा सिक्किम भारतका साहित्यकार प्रवीण खालिङको निबन्ध संग्रह पनि परेको छ। छनौटमा परेका अन्य कृतिमा दाजु गुरुङको उपन्यास निरजोया, अभय श्रेष्ठको कवितासंग्रह लहना र तीर, गगन योक्पाङ्देनको कविता संग्रह केवाफुङ्को गीत, मोमिलाको निबन्ध संग्रह प्रश्नहरू त बाँकी नै रहन्छन्, जसकुमार राई र अर्जुन उप्रेतीको संयुक्त लेखन रहेको रत्न बान्तवाको जीवनी नेपालमा सुरुङ युद्ध, इन्दु नेपाल योन्जनको कविता संग्रह अन्तिम सेलो, प्रकाश थाम्सुहाङको निवन्ध संग्रह शब्दथुम, अखण्ड भण्डारीको उपन्यास बोरा, मन्जुला तामाङ सुव्वाको कविता संग्रह कुहिरो भित्र घुम जोरबङ्गलो रहेका छन्। पुरस्कारको निम्ति स्वदेश र विदेशमा नेपाली भाषामा प्रकाशित १०१ पुस्तक प्राप्त भएको पुस्तकालयले जनाएको छ।
यिनै १० कृति मध्ये एक कृतिलाई ताम्र पत्रसहित २०८० सालको ‘विमल गुरुङ कृति पुरस्कार प्रदान गरिने पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए। पुरस्कार राशी नगद राशी २ लाख रुपियाँको रहेको छ। पुस्तकालयले दुई वर्षअघि देखि विमल गुरुङ कृति पुरस्कार प्रदान गर्दै आएको छ। यसै गरी विगत ३३ वर्षदेखि नियमित आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सवका लागि पनि पुस्तकालयले १० उत्कृष्ट कविता छनौट गरेको छ। महोत्सवकालागि प्राप्त भएका ८१ कविताहरू मध्ये १० कविता छनौट गरिएको हो। पुस्तकालयले सार्वजनिक गरेको कविताहरूमा खोटाङका अनाम अपेक्षितको एउटा सडकको समालोचना, संखुवासभाका सिजन श्रेष्ठको तेजबहादुर दर्जी, नवलपरासीका अन्जान प्रदीपको सपना, इङ्गल्याण्डका शान्ति लिम्बूको थेम्स नदीको किनारै किनार, मोरङका समीक्षा छिलिङ राईको फूल र म, इलामका दीपेन्द्र आचार्यको ल्याप्चे, सुनसरीका मिन्जाई राईको बुढो परदेशी, फ्रान्सका प्रसान्त उप्रेतीको विलासी राता बाकस, ताप्लेजुङका लेकाली कान्छा मुक्कुमका रैथाने बगैचाको अर्ग्यानिक मुस्कान र सुनसरीका दिपा मंग्रातीको देशमा मेरो अनुहार रहेका छन्। प्रथम, दोस्रो र तेस्रोलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने पुस्तकालयले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement