खरसाङ: भारतीय गोर्खा परिसंघ खरसाङ आञ्चलिक कमिटी अन्तर्गत घैयाबारी शाखाको आयोजनामा आज खरसाङको घैयाबारीमा बलिदान दिवस कार्यक्रम सम्पन्न गरिएको छ। भागोप खरसाङ आञ्चलिक कमिटीको अध्यक्ष सहदेव चामलिङको अध्यक्षता र तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको प्रमुख अातिथ्यमा सम्पन्न उक्त कार्यक्रममा स्वागत सम्भाषण भागोप घैयाबारी शाखाको उपाध्यक्ष हेमराज गुरुङले राखेका थिए भने सञ्चालन भागोप घैयाबारी शाखाको सचिव जयराज थापाले गरेका थिए। सभाध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरूद्वारा शहीद दुर्गा मल्लको तस्वीरमा खदार्पणसहित धुप दीप प्रज्वलन गरी श्रध्दाञ्जली अर्पण गर्दै शुरु गरिएको कार्यक्रममा भारतीय गोर्खा परिसंघ खरसाङ आञ्चलिक कमिटीको पदाधिकारीहरूले भागोपको उदबोधन गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गर्दै मौन धारण पनि गरिएको थियो। २५ अगस्त १९४४ को दिन नै मेजर दुर्गा मल्ललाई ब्रिटिश शासनले फाँसीको सजाई दिएका थिए। त्यसैले मेजर दुर्गा मल्लको पुण्यतिथिमा श्रध्दाञ्जली अर्पण ७९औं बलिदान दिवस कार्यक्रम पालन गरिएको छ।

कार्यक्रममा विभिन्न स्कूलहरूका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए। यस अन्तर्गत घैयाबारीका विद्यालयहरू क्रमैले नेताजी हाई स्कूल, ब्लु डाईमण्ड स्कूल, ज्याप डोभियल एकाडेमीका विद्यार्थीहरूले देशभक्ति गीत, कविता, नृत्यहरू प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित सभासद नवराज छेत्री लगायत नेताजी हाई स्कूलको शिक्षक प्रभारी दिनेश प्रधान, ब्लु डाईमण्ड स्कूलकी प्रचार्य मार्थारानी राई, तिलक शर्मा, ग्याल्पो लामा, सोनु पाख्रिन, सुरेशचन्द्र दर्नाल अादिले वक्तव्य राखेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा भागोप खरसाङ आञ्चलिक कमिटीको सचिव देविका मंग्राती राई, पूर्व सभासद प्रभा छेत्री, तिलक शर्मा, ग्याल्पो लामा, रश्मी राई, शान्ति तामाङ लगायत अन्यहरू उपस्थित रहेका थिए। आजको बलिदान दिवस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भारतीय गोर्खा परिसंघ घैयाबारी शाखाको सचिव जयराज थापाले आज हामीले खरसाङ क्षेत्रीय समिति र घैयाबारी शाखाको आयोजनामा बलिदान दिवस पालन गरिएको र यस कार्यक्रममा सभाध्यक्षको रुपमा भागोप खरसाङ क्षेत्रीय समितिको अध्यक्ष सहदेव चामलिङ र प्रमुख अतिथिको रुपमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री उपस्थित रहेको बताएका छन्। उनले आज हामी सबै गोर्खाहरू एक भएर स्वाधीनता दिवसमा योगदान दिने गोर्खा शहीदहरूको नाममा बलिदान दिवस पालन गरिएको बताउँदै आजको दिन नै मेजर दुर्गा मल्ललाई फाँसी दिइएको थियो र हामीले उनको पुण्यतिथिमा ७९औं बलिदान दिवस पालन गरिएको जानकारी गराएका छन्।











