विराटनगरको माछापुच्छ्रे सहकारी ठगी प्रकरण

IMG-20241018-WA0182

सञ्चालक र ऋणीसहित १०९ जना विरुद्ध मुद्दा दायर

मोरंग: विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना र अपचलन गरेको आरोपमा सञ्चालक तथा ऋणीविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको छ।
प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीका अध्यक्ष अमलेश कर्ण, उपाध्यक्ष सनातम मण्डल, सचिव उत्तम ढुंगेल, सञ्चालक प्रभाकर थापासहित १०९ जनालाई प्रतिवादी बनाएर ‘सहकारीको रकम हिनामिना शीर्षक’मा मुद्दा दायर गरेको हो।
मुद्दा दायर गरिएका मध्ये २१ जना सहकारीका सञ्चालक र पूर्वसञ्चालकहरु हुन्। अन्य खराब ऋणीहरु हुन्। सहकारीको रकम नतिर्ने ऋणिलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ। मुद्दा दायर गरिएकामध्ये अध्यक्ष कर्ण मात्रै पक्राउ परेका छन्। अन्य सञ्चालक र ऋणीलाई फरार प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरिएको हो।
प्रदेश सरकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले छानबिन गर्दा सहकारीको ९ करोड २५ लाख रुपैयाँ हिनामिना गरेको देखिएको थियो। प्रहरीको अनुसन्धानबाट भने ७ करोड ८४ लाख २६ हजार ३ सय ३५ रुपैयाँ मात्रै हिनामिना भएको प्रष्ट हुन्छ। अदालतमा सोही बिगो दाबीसहित मुद्दा दायर भएको जिल्ला सरकारी वकिल कार्यालय मोरङले जनाएको छ।
सहकारीले बचत फिर्ता नगरेपछि १ सय ३ जना बचतकर्ताले प्रहरीमा उजुरी दिएका थिए। ती बचतकर्ताले २ करोड ४२ लाख ६ हजार ७ सय ५१ रुपैयाँ बचत फिर्ता माग गरेका छन्। सहकारी संस्थाबाट १ सय ८३ जनाले ६ करोड ३४ लाख ७६ हजार २ सय २६ रुपैयाँ ऋण लिएको देखिन्छ। धितो नराखी प्रवाह भएको अधिकांश ऋण जोखिममा परेको छ।
सरकारी वकिलको कार्यालयले मुद्दा दायर गर्दा खराब ऋणीलाई प्रतिवादी बनाएको सम्भवत पहिलो घटना हो। सहकारीका ऋणीलाई पनि प्रतिवादी बनाइएको मोरङमा यो मुद्दा भएको बताइन्छ। आर्थिक संकटमा परेपछि २ वर्षयता सहकारीको कार्यालय बन्द छ। सहकारी बन्द भएपछि बचतकर्ता आफ्नो पैसा फिर्ताका लागि भौतारिरहेका छन्।
प्रहरी अनुसन्धानबाट सहकारीले मनोमानी रुपमा लगानी गरेको, धितो बिना गरेको लगानी जोखिममा रहेको, सञ्चालक र पदाधिकारीले मनखुसी पैसा चलाएको देखिएको पुष्टि भएको छ। सहकारीका अध्यक्ष कर्णले बयानका क्रममा संस्थाका पदाधिकारीलगायत सदस्यहरु प्रभाकर थापा, अमित कार्की, उत्तम ढुंगेल, श्याम कोइराला, सरु भण्डारी, गोपाल ढकाल, दिलिपकुमार साह, राधादेवी लिम्बू, गोकुल थापा (पुरानो समितिका उपाध्यक्ष) र इन्द्रेश कर्णले बिना धितो ऋण लिएको बताएका छन्।
व्यवस्थापक समेत रहेका अमित कार्कीले संस्थामा जम्मा गर्नपर्ने रकम आफ्नो खातामा जम्मा गरेर अपचलन गरेका हुन्। कार्कीले संस्थाको धेरैजसो रकम आफ्नो व्यक्तिगत खातामा जम्मा गर्थे ।बिनाधितो ऋण लगानी गर्ने उनले ऋण उठाउन कुनै प्रयत्न नगरेका कारण संस्था संकटमा परेको कर्णको दाबी छ। अध्यक्ष भएपनि सधैं पेलेर ऋण लगानी गर्ने गरेको बयान गरेका कर्णले घाटामा रहेको सहकारीलाई लेखा परीक्षण गर्दा समस्यामा पर्ने डरले सधैं नाफामा देखाइएको बयान दिएका छन्।

About Author

Advertisement