८६ बर्षिया वृद्धाको हत्या

IMG-20241018-WA0180

धादिङ: धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ सिम्लेमा ८६ बर्षिया वृद्धाको हत्या भएको छ। बुधवार राति अन्दाजी ११ बजे तिर ८६ वर्षीया सुन्तली माया घलेको हत्या भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिएसपी डिल्ली नारायण पाण्डेले जानकारी दिए।
हत्या भएको खबर लगत्तै पाण्डेले आफ्नै नेतृत्वमा प्रहरी परिचालन गरी हत्यामा संलग्नलाई खोजेका थिए। हत्या गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउसमेत गरेको छ। नीलकण्ठ नगरपालिका वडा नम्बर-८ को मैदी भन्ज्याङबाट भाग्दै गरेको अवस्थामा बिहीबार गोर्खा आरुघाट गाउँपालिका निवासी २९ वर्षीय विजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
गोर्खाबाट धादिङको सिद्धलेक गाउँपालिकास्थित सिम्लेमा आफन्तको घरमा गएको बेला छिमेकी सुन्तली मायालाई राति आफन्त लालबहादुर घलेको बारीमा लगी हत्या गरेर छाडिदिएको प्रारम्भिक वयानमा विजयले बताएको प्रहरीले जानकारी दिएको छ।
हत्याको कारण भने खुल्न सकेको छैन। युवकलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरीमा राखिएको छ।

About Author

Advertisement