जीटीए प्रमुख कार्यपाल अनित थापाद्वारा श्रध्दाञ्जली अर्पण
खरसाङ: खरसाङ नगरपालिकाको पूर्व भाइस चेयरम्यान तिलककुमार प्रधानको निधन भएको छ। उनको निधन आज बिहान ६.३० बजेतिर खरसाङ महकुमा अस्पतालमा ९३ वर्षको उमेरमा निधन भएको छ। उनी विगत एक महिनादेखि बिमारको कारण सिलगढीको एक निजी नर्सिङ होममा उपचाराधीन अवस्थामा रहेका थिए भने केही दिनदेखि यता खरसाङ महकुमा अस्पतालमा उपचाराधीन अवस्थामा रहेका थिए। तिलककुमार प्रधान सन् १९८४ देखि १९९९ सम्म लगातार रुपमा १५ वर्षसम्म खरसाङ नगरपालिकाको भाइस चेयरम्यान रहेका थिए। उनको जन्म ३ जनवरी १९३२ सालमा भएको थियो। उनी खरसाङ महकुमा खेलकूद संघको संस्थापक सदस्य, गोर्खा दुःख निवारक सम्मेलन खरसाङको संस्थापक सदस्य, गोर्खा जनपुस्ताकालय खरसाङको भवन निर्माणमा मुख्य भूमिका निर्वाह गरेको बताइएको छ। उनको कान्छा छोरा भरतमणि प्रधानले दिएको जानकारी अनुसार उनले आफुपछि दुई छोराहरू, चारजना छोरीहरू लगायत नाता नातिनीहरू र पनाति पनातिनीहरू छोडी गएका छन् भने उनको पार्थिव शरीरलाई भोलि शनिवार दिउँसो १ बजेतिर खरसाङको हार्ट बजार नजिक डोको लाइनस्थित पुष्पाञ्जली निजी निवासबाट निकालिने बताएका छन्। खरसाङ नगरपालिकाको पूर्व भाइस चेयरम्यान तिलककुमार प्रधानको निधनमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा उपस्थित भएर खदार्पणसहित श्रध्दाञ्जली अर्पण गरेका छन्।

उनले शोकित परिवारप्रति गहिरो शोक समवेदना प्रकट गर्दै परिवारको सदस्यहरूसित भेटघाट पनि गरेका छन्। उनीबाहेक खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, वरिष्ठ साहित्यकार जीबी बल लगायत विभिन्न सामाजिक संस्थाहरूका प्रतिनिधिहरू र विशिष्ठ व्यक्तिहरू आएर श्रध्दाञ्जली अर्पण गरेका छन्।