पाकिम: राज्यपाल ओमप्रकाश माथुरले आज पाकिम भ्रमणको क्रममा सांस्कृतिक धरोहर, कृषि र आध्यात्मिक सम्पदाहरुको निरीक्षण गरे। पाकिम जिल्लाको दुई दिने भ्रमणमा निस्केका राज्यपाललाई जिल्ला प्रशासनिक अधिकारीहरुले स्वागत जनाए। भ्रमणका क्रममा कृषि तथा बागवानी विभागका मन्त्री पुरण गुरुङ, मुख्यमन्त्रीका सल्लाहकार विष्णुकुमार खतिवडा र जिल्ला उपाध्यक्ष प्रभा प्रधान पनि सामेल थिए। यस भ्रमणले सिक्किमको ऐतिहासिक विशिष्ट सम्पदाहरुलाई अझ राम्रोसँग बुझ्ने र प्रवर्द्धन गर्ने र स्थानीय समुदाय तथा सरोकारवालाहरूसँग सम्बन्ध प्रवर्द्धन गर्ने तयारी गरेको छ। राज्यपालको पहिलो भ्रमण रेशीको पर्वतेश्वर शिवालय मन्दिरबाट शुरु भयो। जहाँ उनले स्थानीय नागरिकहरूको कल्याणको लागि प्रार्थना गरे। त्यसपछि उनले रेशी चेकपोस्टको भ्रमण गरेर सिक्किमलाई बंगालबाट अलग गर्ने सीमा क्षेत्रहरूको निरीक्षण गरे। यस क्रममा उनलाई तेस्रो भारत रिजर्व बटालियनद्वारा गार्ड अफ अनर दिइयो। यसबीच रिनाकमा गणेश कुमार प्रधानले स्थापना गरेको निजी प्रतिष्ठान राम गौरी संग्राहलयको भ्रमण गरे। यस संग्रहालयले सिक्किमको समृद्ध ऐतिहासिक सम्पदा साथै पूर्व-औपनिवेशिक भारत र छिमेकी नेपाल र भुटान लगायतका टिकटहरू, सिक्काहरू र कलाकृतिहरूको विविध संकलन गरेको छ। राज्यपालले प्रधान परिवारको प्रतिबद्धताको प्रशंसा गरे। सिक्किमको सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा यसको भूमिकालाई प्रशंसा गरे। आफ्नो यात्राको क्रममा, राज्यपालले आरिटारको प्रधान गाउँमा जैविक फार्मको पनि भ्रमण गरे। राज्यपालले अधिकारीहरु, पञ्चायत सदस्यहरु र जनतासँग विभिन्न विषयमाथि छलफल गरे। हजारे फार्ममा आयोजित सभालाई सम्बोधन गर्दै उनले स्थानीय जनतालाई सक्रिय रूपमा जैविक खेतीमा संलग्न हुन प्रोत्साहित गरे। उनीहरूलाई दिगो कृषि अभ्यासहरूबारे पनि प्रोत्साहित गरे। कृषि विभागका अतिरिक्त निर्देशक छिरिङ छोपेल भोटियाले कृषि प्रविधि व्यवस्थापन एजेन्सीको कार्यक्रमअन्तर्गत कृषि र बागवानी विभागमार्फत उपलब्ध सुविधाहरुबारे जानकारी गराए। राज्यपाल माथुरले भोलि गुम्पा सिमाना हुँदै माङ्खिमको भ्रमण गर्नेछन्। यसबीच उनले विश्व विनायक मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको छ।











