गान्तोक: दक्षिण सिक्किमको नामथाङ फाटकमा एउटा मोटर साइकल विपरित दिशाबाट आइरहेको बलेरोसँग मुखामुख हुँदा बाइकसवारको मृत्यु भएको छ। घटना आज बिहान दशदेखि साढे दश बजी भित्रको हो। मृतकलाई भारतीय सेना, ११ गोर्खा रेजिमेन्टका राइफलम्यान शिव छेत्रीको रुपमा चिन्हित गरिएको छ जो हाल तादोङ, गान्तोकमा तैनाथ थिए। मोटर साइकल र बलेरोको ठक्करमा बाइकमा सवार छेत्री गम्भीर घाइते भएका थिए जसलाई तत्काल उपचारको निम्ति सिङताम जिल्ला अस्पताल लगियो। तर, बाटोमा नै उनको मृत्यु भइसकेको थियो। बाइक सवारले आफू अघिको बसलाई “ओभरटेक” गर्दा विपरित दिशाबाट आइरहेको बलेरोसँग ठोक्किन पुगेको पुलिसको प्रारम्भिक जाँचमा थाहा लागेको छ।










