खरसाङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका वरिष्ठ नेता एवं केन्द्रीय समिति सदस्य स्व बिरेन लामालाई गोरामुमो अध्यक्ष मन घिसिङले भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्। दार्जीलिङस्थित डाक्टर यानछिन रोडस्थित वासस्थान पुगेर पार्टी अध्यक्ष मन घिसिङले स्व. बिरेन लामाको राजनैतिक योगदानप्रति सम्मान प्रकट गर्दै पार्टीको झण्डा ओडाएर सम्मानसहित श्रध्दाञ्जली अर्पण गरेका छन्। स्व लामाको निधनले जाति र माटोको निम्ति मरिहत्ते गर्ने सन् १९८६ को गोर्खाल्याण्ड आन्दोलनमा उनले आफ्नो महत्त्वपूर्ण योगदान दिएको थियो र उनको निधनले गोरामुमो पार्टीमा अपूरणीय क्षति पुगेको अध्यक्ष घिसिङले बताएका छन्। उनले लामाको प्रेरणादायी योगदानलाई सधैं सम्झिने उल्लेख गर्दै परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।
पार्टी अध्यक्ष मन घिसिङले शोकाकूल परिवारसँग भेटघाट गरी शोकाकुल परिवारको दुःखमा सहभागी हुँदै साथ र शान्त्वाना प्रदान गरेका छन्। यस दुःखद घडीमा परिवारको पीडामा साथ दिन गोरामुमो पार्टीले सँधै सहयोगको हात अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले लामालाई सम्झनामा राख्ने बताएका छन्। स्व लामालाई श्रद्धाञ्जलि अर्पण गर्ने क्रममा गोरामुमो केन्द्रीय समिति कार्यालय सचिव अमर तामाङ, दार्जीलिङ ब्राञ्च कमिटी सदस्य ललित तामाङ, गोरायुमो केन्द्रीय समिति कोर्डिनेटर संजोक गुरुङ, देवराज तामाङ, बिरमन लामा, समीर राई, प्रवेश थापा लगायतका गोरामुमोका प्रमुख कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले उनको निधनलाई ठूलो क्षति मानेको छ। उनको नेतृत्व र योगदानले पार्टीलाई एकताबद्ध राख्न तथा गोर्खा जातिको अधिकारका लागि गरेको संघर्ष सदाको लागि प्रेरणाको स्रोत रहने बताइएको छ।