कोलकाता: आरजी कर मेडिकल कलेज एवं अस्पतालबाट २९ जना सिभिक भोलन्टियर्सलाई ड्यूटीबाट हटाइएको छ। कोलकाता पुलिस मुख्यालय लालबजार सूत्र अनुसार यी भोलन्टियर्सलाई अन्यत्र स्थानान्तरण गरिएको छ।यिनीहरूको स्थानमा अतिरिक्त पुलिस बललाई तैनाथ गरिएको छ ताकि सुरक्षा सुनिश्चित गर्न सकियोस्। हालैमा सुप्रीम कोर्टले आदेश दिएको छ, अस्पताल, स्कूलहरू जस्ता संवदेशील स्थानहरूमा सिभिक भोलन्टिर्सलाई तैनाथ गर्न सकिँदैन।
आरजी कर मेडिकल कलेजमा एकजना छात्रा डाक्टरसित भएको दुष्कर्म अनि हत्याको मामिलाको सुनवाई अवधि सुप्रीम कोर्टका मुख्य न्यायाधीशको बेञ्चले यो आदेश दिएको थियो। पुलिस अधिकारीहरूको भनाइ छ, केन्द्रिय बल अनि पुलिसको संयुक्त तैनाथीको कारणले सुरक्षाको दृष्टिले कुनै समस्या हुनेछैन। तथापि अन्य सरकारी अस्पतालहरूमा सिभिक भोलन्टियर्सको तैनाथीलाई हटाइएपछि सुरक्षा व्यवस्थालाई लिएर अहिले पनि चर्चा भइरहेको छ। कोलकाता पुलिसमा लगभग छ: हजार पद खाली छ भने शहरका सबै सरकारी अस्पतालहरूमा लगभग २०-३०नजना सिभिक भोलन्टियर्स तैनाथ छन्। यी भोलन्टियर्सले पुलिसकर्मी र होम गार्डलाई सहयोग गर्नको साथै अस्पतालको सुरक्षामा पनि योगदान दिँदछन्। उल्लेखनीय छ, गत नौ अगस्तमा आरजी करकाण्डको आरोपमा सिभिक भोलन्टियर सञ्जय रायलाई पक्राउ गरिएको थियो। तथापि त्यस दिन उसको अस्पतालमा ड्यूटी नै थिएन, तर पनि उ अस्पतालको सेमिनार कक्षमा उपस्थित थियो। त्यसपछि अस्पतालमा सिभिक भोलन्टियर्सको ड्यूटी र उनीहरूको ओहोर-दोहोरमाथि प्रश्न उठेको थियो जसलाई मध्यनजर ग र्दै पुलिसले यी भोलन्टियर्सलाई प्रशिक्षण दिने निर्णय लिएको छ जुन आगामी जनवरी महिनादेखि शुरू हुनेछ।