गान्तोक: सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमले भारत निर्वाचन आयोगद्वारा सिक्किमका दुईवटा निर्वाचन क्षेत्रमा प्रस्तावित उपचुनाउलाई लिएर गरिएको घोषणाको स्वागत जनाएको छ।
सिक्किमको सोरेङ च्याखुङ र नाम्ची सिङ्गीथाङमा उपचुनाउ प्रस्तावित छ। क्याप सिक्किमले आज जारी प्रेस विज्ञप्तिमा उपचुनाउ सिक्किमको लोकतान्त्रिक इतिहासमा एक महत्त्वपूर्ण अवसर रहेको बताएको छ।
क्याप सिक्किमले एकै परिवारका सदस्यहरूद्वारा गरिमामय विधायक पदको उपेक्षा गर्दै राजीनामा दिएको घटनाले राज्यका दुई निर्वाचन क्षेत्रलाई रिक्त बनेको बताएको छ। सत्तारूढ दलले लोकतन्त्रको जनमतलाई हेलचेक्राई गरेको आरोप लगाउॅंदै यस निर्णयले दुवै समष्टिका जनतालाई सोच्न बाध्य बनाएको बताइएको छ। यस्तो अवस्थामा जनताले आफ्नो अधिकारको सदुपयोग गरी योग्य, सक्षम, र जिम्मेवार विपक्ष नेतृत्व चयन गर्न पाउनु एक सुनौलो अवसर रहेको क्याप सिक्किमले विज्ञप्तिमा बताएको छ।
क्याप सिक्किमले भनेको छ, जनताको चाहना र अपेक्षालाई बुझेर क्याप सिक्किमले दुवै निर्वाचन क्षेत्रमा योग्य, अनुभवी र सक्षम उम्मेदवार प्रस्तुत गर्दैछ। क्यापका उम्मेदवारहरू जनताको सेवा र राज्यको समृद्धिको मार्गप्रति प्रतिबद्ध छन्। हाम्रो उद्देश्य राजनीतिक पदलाई व्यक्तिगत स्वार्थको साधन बनाउनु नभई, लोकतन्त्रको सुदृढीकरण र जनताका मुद्दाहरूको स्थायी समाधान दिनु हो।
जागरुक मतदाताहरूले आगामी उपचुनाउमा क्यापका उम्मेदवारहरूलाई समर्थन गर्नेछन् र पार्टीले हजारौं मतको फराकिलो अन्तरले चुनाउ जित्न मद्दत पुग्नेछ भनी क्यापले दृढ विश्वास व्यक्त गरेको छ। यो विजयले सिक्किमलाई नयाँ युगतर्फ अग्रसर गराउनेछ, जहाँ पारदर्शिता, जिम्मेवारी र जनउत्तरदायी विपक्षी शासनको सुनिश्चितता हुने कुरा विज्ञप्तिमा उल्लेख छ। क्यापले यस ऐतिहासिक अवसरमा मतदाताहरूलाई सही निर्णय लिन र लोकतन्त्रको मर्मलाई अझ सशक्त बनाउन आह्वान पनि गरेको छ।