२५ अगस्तः भारतका अनुभवी ब्याडमिण्टन खेलाड़ी एचएस प्रणयले दोस्रो वरीयता प्राप्त केण्टो मोमोटालाई पराजित गरी बीडब्ल्यूएफ विश्व च्याम्पियनशीपमा ठूलो उलटफेर गरे। यसबीच कमनवेल्थ गेम्समा स्वर्ण पदक विजेता लक्ष्य सेन पनि पुरुष एकलको प्री-क्वार्टर फाइनलमा पुगे। गैर वरीयता प्राप्त प्रणयले सोचेको भन्दा धेरै असल प्रदर्शन गर्दै दर्शकहरूका फेवरेट अनि दुईपल्टका पूर्व विश्व च्याम्पियन मोमोटालाई दोस्रो राउण्डको म्याचमा २१-१७, २१-६-ले पराजित गरे। यो प्रणयको मोमोटा विरुद्ध आठवटा म्याचमा पहिलो जीत हो। यसअघि खेलिएका म्याचहरूमा भारतीय खेलाड़ीले आफूभन्दा उच्च ऱ्यांकिंग भएका जापानका प्रतिद्वन्द्वी विरुद्ध केवल एउटा गेम मात्र जितेका थिए। यसअघि लक्ष्यले स्पेनका लुईस पेनावेरलाई ७२ मिनटमा २१-१७, २१-१०-ले पराजित गरे। अब प्री-क्वार्टर फाइनलमा प्रणय र सेनबीच भिड़न्त हुनेछ। मोमोटा विरुद्ध जीतपछि प्रणयले भने, उनी विरुद्ध रेकर्ड त्यति राम्रो थिएन। शीर्ष स्तरमा खेल्ने खेलाड़ी विरुद्ध खेल्नु सदा मुश्किल हुन्छ। मैले आज उनी विरुद्ध वास्तवमै अनुशासित भएर खेल्नु पऱ्यो। मेरो निम्ति गेमलाई सही तरिकाले अघि बढ़ाउनु महत्त्वपूर्ण थियो अनि यस रणनीतिको साथ म आज सफल भएँ।