खरसाङ: वर्तमानमा खरसाङको गिध्द पहाड़स्थित रक गार्डन भ्यु पोइन्ट पर्यटकहरूका लागि मुख्य अाकर्षणको केन्द्र बनेको छ। केही वर्ष यता यस भ्यु पोइन्ट स्थानीयहरू तथा पर्यटकहरूका लागि पहिलो रोजाई बनिरहेको छ। यो दशैंको सिजनमा झनैं यो भ्यु पोइन्ट सबैको लागि महत्वपूर्ण गन्तव्य बनेको छ। तर यसपाली यो दशैंको समयमा दिन कुइरो लागेर पर्यटकहरूका लागि वरिपरिका दृश्यहरू देख्न भने बाधा पुगेको थियो। सो दशैंको सिजनभरि घाम नलागेर कुइरोले छोपेको कारणले पर्यटकहरूले गिध्द पहाड़स्थित भ्यु पोइन्टदेखि चारैतिर देखिने दृश्यहरू भनेको जस्तो देख्न पाएनन्। अहिले खरसाङको मुख्य आकर्षक पर्यटकीय क्षेत्रहरूमा यो भ्यु पोइन्ट पनि परेको छ। खरसाङ घुम्न आउने पर्यटकहरू विशेष गरेर खरसाङ क्षेत्रको पर्यटकीय स्थलहरू क्रमैले चिमनीको हेरिटेज गार्डन, डाउहिलको डियर पार्क, बरबुङ क्षेत्रमा रहेको हनुमानको मूर्ति र आई लभ खरसाङ लेखेको ठाउँमा जाने गरेका छन्। त्यहाँबाट पर्यटकहरू सोझै गिध्द पहाड़को रक गार्डनमा रहेको भ्यु पोइन्टमा आउने गरेका छन्। यहाँ आउनुको अर्को फाइदा पनि छ।रक गार्डनमा घुमेर नजिकैमा रहेको नेताजी म्युजियममा पनि घुम्न जान सुविधा रहनेछ। नेताजी सुवासचन्द्र बोससित सम्बन्धित ऐतिहासिक तथ्यहरू यहाँ पर्यटकहरूले हेर्न पाउनेछन्। त्यसैले पनि यहाँ आउँदा पर्यटकहरूलाई फाइदा नै छ। एकै ठाउँमा दुईवटा कुरा यहाँ पर्यटकहरूले पाउने गर्छन्। त्यसैले पनि पर्यटकहरूको घुइँचो यहाँ निक्कै बेसी देखिएको छ। गिध्द पहाड़को भ्यु पोइन्टबाट पहाड़ र मधेशको सुन्दर दृश्यहरू पर्यटकहरूले अवलोकन गर्न पाउँछन् जसले गर्दा यहाँ पर्यटकहरूलाई आकर्षित पार्ने क्षमता पूरै छ। यहाँबाट सिलगढीको विभिन्न स्थानहरू, टिस्टा नदी, मिरिक, मेची र बालासन नदी, रोहिणी, सिटोङको डाँड़ाहरू, महल्दिराम, खरसाङ। शहर, महानदी, घैयाबारी लगायत विभिन्न चियाबारीहरु साथै थुम्का थुम्कीहरू र विभिन्न रमणीय डाँड़ा काँड़ाहरूले पर्यटकहरूलाई लोभ्याउने गरेको छ। यसको अतिरिक्त गिध्द पहाड़को रक गार्डनमुनि रहेको चियाबारी र ठूल्ठूला ढुङ्गाको चुचुरोहरू पर्यटकहरूका लागि मुख्य आकर्षण बनेको छ। यी क्षेत्रहरूमा ज्यादा जस्तो ससाना फिल्मको सुटिङ, म्युजिक भिडियोको छाँयाकन साथै वेडिङ फोटोग्राफीको लागि धेरैजना आउने गरेको देखिएको छ। त्यसैले पनि गिध्द पहाड़को रक गार्डन र वरिपरिका क्षेत्रहरू पर्यटकहरूका लागि मुख्य आकर्षणको केन्द्र बनेको छ। रक गार्डनको भ्यु पोइन्टमा दैनिक पर्यटकहरू र स्थानीयहरूका उपस्थिति देखिन्छ। यसले गर्दा यस क्षेत्रमा दोकानहरू निक्कै चल्ने गरेकोले स्थानीयहरूलाई रोजगारको अवसर पनि सिर्जना गरेको देखिएको छ। यस स्थान वर्तमानमा सेल्फीको लागि पनि प्रसिध्द बनिरहेको छ। मानिसहरू यहाँ आएर सेल्फी लिन र सामाजिक सञ्जालहरूमा पोष्ट गर्नलाई निक्कै होड़बाजी पनि देखिएको छ। यहाँको शान्ता, आकर्षण र रमणीय परिवेशले सबैलाई आकर्षण गरिरहेको छ। मानिसहरू टाड़ा नजिकबाट यहाँ आएर फोटो क्लिक गर्न र घुमफिर गर्न रुचाउँछन्। यहाँ आएपछि पर्यटकहरू साथै स्थानीयहरूलाई पनि छुट्टै आनन्द र शान्ति महसुस गर्नमा सहयोग गर्दछ र नै मानिसहरू यहाँ आउने गरेका छन्। अहिलेको समयमा खरसाङ र वरिपरिका स्थानहरूका घरतिर पाहुना आएमा पाहुनाहरूलाई यही गिध्द पहाड़को रक गार्डन घुमाउन ल्याउने गरेको पनि पाइन्छ। यो दशैंको सिजनमा पनि धेरै टाड़ा नजिकका पर्यटकहरू यहाँ निक्कै बेसी आएको देखिएको छ।अर्कोतिर यहाँ धेरै मात्रामा पर्यटकहरू आउने गरेकोले दोकानहरू पनि बढ्दै गईरहेको छ अनि स्थानीयहरूलाई रोजगारको अवसर सिर्जना पनि गरिरहेका छन्। गिध्द पहाड़को यो रक गार्डनलाई अझ आकर्षकीय र पर्यटकहरूका लागि सुविधायुक्त बनाउन अझ धेरै पूर्वाधारहरू निर्माण गर्न आवश्यक पनि देखिएको छ। विशेष गरेर रक गार्डन क्षेत्रमा पर्यटकहरूका सुविधाको लागि टोयलेट निर्माण गर्न नितान्त आवश्यक देखिएको छ। नत्र पर्यटकहरूले यहाँ असुविधा भोग्न परिरहेका छन्। यहाँ पर्यटकहरूका लागि गाइड राख्न सकिन्छ साथै गाइड म्याप पनि राख्न सकिन्छ जसले पर्यटकहरूलाई कताबाट आएको र अब कता जाने भन्ने विषयमा जानकारी लिन सुविधा हुनेछ। यसको साथै गिध्द पहाड़को रक गार्डनमा निर्माणाधीन अवस्थामा रहेको घिर्लिङको कार्य पूर्ण गर्न सकिए यहाँ व्यापक मात्रामा पर्यटकहरू आउने सक्ने सम्भावना देखिएको छ। किनभने यहाँ निर्माणाधीन अवस्थामा रहेको रोहिणीसम्म पुग्ने घिर्लिङ अझैं पूर्ण भएको छैन। त्यसर्थ त्यस कार्यप्रति पनि ध्यान दिन आवश्यक देखिएको छ। यसको अतिरिक्त पर्यटकीय स्थलको रूपमा विकसित गर्न अझैं पूर्वधारहरू निर्माण गर्न र पर्यटकहरूका सुविधाको लागि कार्य गर्न आवश्यक देखिएको छ।









