ताप्लेजुङ(फुङलिङ): ताप्लेजुङ-मङ्गलबार एक हजार पाँच सय भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ)को दर्शन गरेका छन्। पछिल्लो केही दिनयता तीर्थयात्रीको सङ्ख्या वृद्धि हुने क्रमसँगै मङ्गलबार एकैदिन उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन्।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार मङ्गलबार एक हजार ४९५ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन्। उक्त सङ्ख्या असोज महिनाकै सबैभन्दा भक्तजनको सङ्ख्या भएको पनि समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीले जानकारी दिए। उनकाअनुसार सोमबार ४२७ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए।
यस पटक पाथीभरा दर्शन गर्ने मुख्य समय अर्थात् दसैँको नवरात्रिको अवधिमा भक्तजनले पाथीभरा दर्शन गर्न पाएका थिएनन्। अविरल वर्षापछिसँगै बाढीपहिरोले सेप्टेम्बरदेखि मेची राजमार्ग अवरुद्ध बनाएपछि तीर्थयात्रीको आउजाउ ठप्प बनेको थियो। पाँचथरको हेँवाखोलामा रहेको बेलिब्रिज बाढीले बगाएर अवरुद्ध बनेको मेची राजमार्ग करिब डेढ सातापछि खुलेसँगै तीर्थयात्रीको आउजाउ सुरु भएको हो।
राजमार्ग सञ्चालनमा आएपछि तीर्थयात्रीको आगमन वृद्धि हुँदै गएको र निरन्तर बढ्दो क्रममा रहेको पनि पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए। उनका अनुसार हाल बाहिरका जिल्लासँगै भारतको सिक्किम, दार्जिलिङ लगायतबाट पाथीभरामा तीर्थयात्री आउने क्रम रहेको छ।