सुनसरी(धरान): सुनसरीको धरान उपमहानगरपालिकाका उममेयर अईन्द्रबिक्रम बेघाले मेयर हर्क साम्पाङले कानूनविपरीत वडाध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिएको भन्दै आपत्ति जनाएका छन्।
बेघाले मंगलबार पत्रकार सम्मेलन गरी साम्पाङको कदम स्थानीय सरकार सञ्चालन ऐन २०१६ को दफा १६ को उपदफा ४ को १ को (क) को १२ नम्बरको व्यवस्थाविपरीत भएको बताए। उक्त दफामा मेयरको अनुपस्थितिमा उपमेयर र उपमेयर पनि नभएको हकमा मात्र अन्यलाई कार्यबाहकको अधिकार प्रत्यायोजन गर्ने प्रष्ट कानूनी व्यवस्था रहेको उनले बताए। साम्पाङले कार्यबाहक दिँदा कुनै धारा र दफा उल्लेख नगरिएको भन्दै स्थानीय सरकार ऐनले चल्ने उल्लेख गरे।
‘सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने’ व्यवस्था ऐनमा छ। ‘संविधान र कानूनले सबैको क्षेत्राधिकार र काम निर्दिष्ट गरेको छ। प्रमुख, उपप्रमुख, वडाध्यक्ष भनेको जिम्मेवारी हो। यी पदहरूबीच कुनै आग्रह वा पूर्वाग्रह हुन मिल्दैन,’ बेघाले भने, ‘यसमा व्यक्तिगत ढंगले निर्देशन वा आदेश गर्ने कुरा छैन। नगर प्रमुखले नगरपालिकालाई नै विवादित बनाउने हिसाबले अधिकार प्रत्यायोजन गरे। यसले हामीलाई गम्भीर बनाएको छ।’
यस्ता क्रियाकलापले नगरलाई विवादित बनाउने उनले बताए। कानुनी प्रश्न उठ्ने गरी चालिएको कदम तत्काल सच्याउन उनले मेयर साम्पाङसँग माग गरे ।के आधार र कुन दफाअनुसार कार्यबाहक तोकेको भन्ने मेयर साम्पाङले स्पष्ट गर्नुपर्ने बेघाले बताए। कार्यबाहक जो भए पनि आफूलाई फरक नपर्ने भन्दै उनले त्यो प्रक्रिया संगत हुनुपर्ने बताए।
मेयर साम्पाङको कदमले उपमहानगरभित्र कानूनी राज्यमाथि गम्भीर प्रश्न उठेको भन्दै कानूनबाहिर गएर गरिएको निर्णय मान्न नसकिने स्पष्ट गरे।
आफू बेलायत भ्रमणमा जाने भएपछि साम्पाङले १४ अक्टूबरदेखि आफू नफर्कंदासम्मका लागि उपमेयर बेघालाई कार्यबाहक नदिई उक्त जिम्मेवारी वडा नम्बर-११ का अध्यक्ष लोकेन्द्रकुमार फागोलाई दिएका छन्। साम्पाङ स्वतन्त्र, उपमेयर बेघा माओवादी केन्द्र र ११ का वडाअध्यक्ष फागो काँग्रेसबाट निर्वाचित भएका हुन्।










