काठमांडू: नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ।
परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको जाँच गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह समेत गरेको छ।
सामाजिक सन्जाल एक्समा मन्त्रालयले लेखेको छ, ‘नेपाल संयुक्त राष्ट्र संघको अन्तरिम बल (यू.एन.आई.एफ.आई.एल)का शान्ति सैनिकमाथि हालै भएको आक्रमणको कडा निन्दा गर्दछ। साथै संघर्षरत सबै पक्षलाई संयुक्त राष्ट्र संघकर्मीको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछ। यस्ता आक्रमण तत्काल रोक्नुपर्दछ र घटनाको गहन अनुसन्धान गर्नुपर्दछ।’
संयुक्त राष्ट्रसंघका अनुसार दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सेना आइतबार जबर्जस्ती प्रवेश गरेका थिए। यस घटनाले शान्ति सेना र इजरायली सेनाबीच तनाव बढेको थियो। त्यसको भोलिपल्ट इजरायली सेनाले हिजबुल्ला लक्षित आक्रमण गर्दा ६ जना शान्ति सैनिकसमेत घाइते भएका थिए।









