गान्तोक: सिक्किमले भारतको शीर्ष घरेलु टुर्नामेण्ट रणजी ट्रफी २०२४-२५ सीजन (प्लेट ग्रुप)-मा जीतको साथअभियान शुरु गऱ्यो। माइनिङस्थित क्रिकेट मैदानमा खेलिएको म्याचमा सिक्किमले मिजोरमलाई १३७ रनले पराजित गऱ्यो। आफ्नो टीमको यादगार जीतमा सिक्किम क्रिकेट एसोसिएशन (एसआईसीए) अध्यक्ष टीका सुब्बाले खुशी व्यक्त गरेका छन्। उनले रणजी अभियानका साथै सीनियर मेन्स टीमको निम्ति पनि सीजनको राम्रो शुरुवात भएको बताएका छन्। उनले यस जीतलाई दशैंको उपहार बताउँदै पहिलो म्याच जित्नु अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्। उनले आगामी म्याचहरूमा पनि टीमले यसरी नै प्रदर्शन गर्दै जाने आशा व्यक्त गरेका छन्। म्याचमा सिक्किमले पहिला ब्याटिंग गर्दै पहिलो ईनिंग्समाा १९१ रन बनाएको थियो। त्यसपछि मिजोरमको पहिलो ईनिंग्स १६३ रनमा समाप्त भएको थियो। सिक्किमले पछिबाट आफ्नो दोस्रो ईनिंग्समा २६९ रन बनाउँदा मिजोरमको टीमलाई म्याच जित्न आफ्नो दोस्रो ईनिंग्समा २९८ रन बनाउने लक्ष्य प्राप्त भएको थियो। चुनौतीपूर्ण लक्ष्यलाई खेदो गर्दै मिजोरमको टीम आज १६० रन बनाएर अलआउट भयो।