गान्तोक: आज अपराह्नको समय गान्तोक र रानीपुल बीच सात माइलस्थित ग्यास गोदाम नजिक राष्ट्रिय राजमार्ग 10मा एउटा बस दुर्घट्ना हुँदा कम्तिमा २५ जना यात्री घाइते भएका छन् जसमध्ये एक महिलाको अवस्था गम्भीर बताइएको छ। दुर्घट्नाको समय अप्सरा नाम गरेको उक्त निजी बस गान्तोकदेखि सिलगढ़ीतर्फ गइरहेको थियो। सिक्किम ट्राफिक पुलिसका अतिरिक्त अधीक्षक अर्जुन तामाङको भनाइअनुसार दुर्घट्ना करिब ४ बजीको हो। उनले बताएअनुसार बसमा २९ जना यात्री सवार थिए जसमध्ये कम्तिमा २५ जना घाइते भएका छन्।

घाइतेहरूलाई छेवैको मणिपाल सेन्ट्रल रेफरल अस्पतालमा उपचारको निम्ति भर्ना गरिएको छ। अधिकतरलाई सामान्य चोटपटक लागेको भए तापनि एक महिलालाई भने गम्भीर चोट लागेको छ। महिलालाई आइसीयू-मा राखिएको छ। घाइतेहरूमा सिङ्गताम अनि वरपर क्षेत्रका केही विद्यार्थी पनि रहेको थाहा लागेको छ। एएसपी तामाङको भनाइअनुसार दुर्घट्नाको कारण बारे अहिले नै ठीकसित थाहा लाग्न सकेको छैन। अर्कोतिर बसमा सवार एकजना यात्रीको भनाइअनुसार केही माथिदेखि नै बसको ब्रेकले ठीकसित काम गर्न छोड़ेको थियो। ब्रेक फेल भएर नै बस दुर्घट्नाग्रस्त भएको उनको भनाइ रहेको छ। दुर्घट्नापछि बसका चालक फरार भएका थिए जसलाई पछि रम्फू पुलिसले पक्राउ गरेको छ।

दुर्घट्नाको जानकारी पाएपछि स्वास्थ्यमन्त्री डा. एमके शर्मा र परिवहन मन्त्र सञ्जित खरेलको साथमा कृषि मन्त्री लोकनाथ नेपाल, विधायक सोनाम भेञ्चोङ्गपा अनि मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ घाइतेहरूलाई हेर्न मणिपाल अस्पताल पुगेका थिए। यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै मन्त्री खरेलल सबै घाइतेहरूको उपचारको खर्च राज्य सरकारले बेहोर्ने बताए। मणिपाल सेन्ट्रल रेफरल अस्पतालका चिकित्सा अधीक्षक योगेश वर्माले जानकारी गराएअनुसार घाइतेहरू मध्ये एक महिलाको अवस्था गम्भीर छ। उनलाई आइसीयू-मा राखेर उपचार गर्ने काम भइरहेको छ। यसरी नै अन्य निक्कै गम्भीर घाइतेलाई भने गहन उपचारको निम्ति सिलगढ़ी लाने तयारी भइरहेको छ।

उल्लेखनीय छ, केही दिन अघि पनि यसै ठाउँको केही मास्तिर झारखण्डका विद्यार्थीहरू सवार एउटा बस दुर्घट्नाग्रस्त भएको थियो। आजको घट्नालाई लिएर रानीपुल थानाले जाँच शुरु गरेको छ।