मेलबर्न: अष्ट्रेलियालाई आउँदो बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीज अघि ठूलो झट्का लागेको छ कारण टीमका स्टार अलराउण्डर क्यामरन ग्रीनले ढाड़को तल्लो हिस्सामा रहेको स्ट्रेस फ्र्याक्चरको निम्ति सर्जरी गराउने फसेला गरेका छन्। यसले गर्दा उनी ६ महिनासम्म मैदानबाट बाहिर रहनेछन्। गत महिना सीमित ओभरहरूका सीरीजको निम्ति अष्ट्रेलियाई क्रिकेट टीमको यात्राको अवधि ग्रीनको ढाड़मा चोट लागेको थियो अनि पछिबाट स्क्याममा प्रभावित क्षेत्रमा स्ट्रेस फ्र्याक्चर पाइयो। क्रिकेट अष्ट्रेलियाद्वारा जारी बयानमा भनिएको छ, क्यामरन ग्रीनको ढाड़मा एउटा स्ट्रेस फ्र्याक्चर रहेको छ। यसले गर्दा चोट गम्भीर हुनसक्छ। यसैकारण गहन परामर्शपछि भविष्यमा हुने जोखिमलाई कम्ती गर्न सर्जरीद्वारा नै लाभ हुने निर्धारित गरियो। चोटको अनौठो प्रवृत्तिबारे थप कुनै जानकारी दिइएको छैन। २५ वर्षीय ग्रीनको सर्जरी क्राइस्टचर्चका सर्जन ग्राहम ईंग्लिश र रोवन स्काउटनले गर्नेछन्। सर्जरी प्रक्रियामा स्क्रू र टाइटेनियन तारको पनि प्रयोग गरिनेछ।
चोटको सर्जरी र चोटमुक्त हुने ६ महिनाको लामो प्रक्रियाले गर्दा ग्रीन बोर्डर-गावस्कर ट्रफीबाट मात्र बाहिर नभएर फरवरीमा श्रीलंका यात्रा, आईसीसी च्याम्पियन्स ट्रफी टुर्नामेण्ट र इण्डियन प्रीमियर लीगबाट पनि बाहिर हुने सम्भावना छ। गत वर्ष उनले अष्ट्रेलियालाई पहिलोपल्ट आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशीप फाइनलमा पुऱ्याउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। अनुभवी ब्याटर स्टीव स्मिथले ओपनरको भूमिका निर्वाह गर्न थालेपछि यस अलराउण्डरले महत्त्वपूर्ण चौथो नम्बरमा ब्याटिंग गरिरहेका थिए। अब ग्रीन टीमबाट बाहिर भएपछि स्मिथ आफ्नो प्रिय ब्याटिंग क्रममा फर्किने सम्भावना रहेको छ। ग्रीनले २८ वटा टेस्ट म्याचको आफ्नो करियरमा १३७७ रन बनाउनको साथै ३५ विकेट लिएका छन्।









