चितवन (माड़ी): चितवनजिल्लाको माडी नगरपालिका ७, देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाट यहि अक्टूबर ५देखि घरबाट हराएकी थिइन्। उनी हराएपछि परिवार आफन्तले सार्वजनिक सूचना जारी गर्दै प्रहरीमा पनि जानकारी गराए।
घरबाट हराएको ३ दिनसम्म रानाभाटको अत्तोपत्तो लागेन। स्थानी बासिन्दा, प्रहरी तथा आफन्त मिलेर उनको खोजी गरिरहेका थिए। हराएको तेस्रो दिन अक्टूबर ८मा दिउँसो घर पछाडि रहेको जङ्गल नजिकको भीरबाट खसेर लडेको अवस्थामा रानाभाटको शव प्रहरीले फेला पार्यो।
मानसिक रोगको नियमित औषधि सेवन गरिरहेकी र घरमा सौता समेत भएको कारण रानाभाट आफै भीरबाट हाम फालेको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीको पनि थियो। यद्यपि शव पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाइएपछि भने डाक्टरले हेर्ने बित्तिकै भीरबाट लडेको कारण नभई घाँटीमा गहिरो चोट लागेर उनको मृत्यु भएको प्रारम्भिक जानकारी दिए।
प्रहरी इन्स्पेक्टर केदारमान दोङले भने, ‘हामीले नाक, कानमा लगाएका गहना नभेटिएपछि घटना शङ्कास्पद रहेको निक्र्यौल गरिसकेका थियौँ। डाक्टरको प्रारम्भिक पोस्टमार्टम रिपोर्टपछि त झन् भवितव्यको मृत्यु नभएर हत्या हुनसक्ने निक्र्यौल भयो।’
त्यसपछि अनुसन्धान थालेको प्रहरीले एउटै टोलमा घर भएका नन्दका श्रीमान् अर्थात् ज्वाइँ नाताका टीकाराम रानाभाटको शङ्कास्पद गतिविधि देखेपछि अनुसन्धानको लागि पक्राउ गर्यो। प्रहरीले पक्राउ गरेपछि ६२ वर्षका टीकारामले आफूले हँसियाले घाँटी रेटेर हत्या गरेको स्वीकार मात्रै गरेनन् घर नजिकैको पतेरी खोला छेउ लुकाएको सुन पनि प्रहरीलाई देखाइदिए। प्रहरीले ठूलो रिङ एक जोडी र कानको माथिल्लो भागमा लगाएका सानो मुन्द्री तीन वटा भेटेको जनाएको छ।










