काठमांडू: बडादसैँको दुुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार २ सय ४२ जनाले हवाई यात्रा गरेका छन्। असोज २४ गते फूलपाती र २६ गते (महाअष्टमी/महानवमी) मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अक्टूबर १०मा आन्तरिकतर्फ दुईतर्फी गरेर तीनसय एक उडानमार्फत १७ हजार ३ सय २९ र अक्टूबर ११मा दुई सय ७८ उडानबाट १४ हजार ४ सय ३६ गरी कुल ३१ हजार ७ सय ६५ ले आन्तरिक उडानमा हवाई यात्र गरेका छन्।
यस्तै अन्तर्राष्ट्रियतर्फ अक्टूबर १०मा दुईतर्फी एकसय सात उडानमार्फत १६ हजार पाँच सय नौ र अक्टूबर ११मा पनि एकसय सात उडान हुँदा १४ हजार नौ सय ६८ गरी कुल ३१ हजार चार सय ७७ ले हवाईयात्रा गरेको विमानस्थल कार्यालयले जनाएको छ। यो उडान र यात्रु सङ्ख्या आगमन र प्रस्थान दुवैको हो।
यसअघि यही सेप्टेम्बर ३०मा एकैदिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएका थिए। ती उडानमार्फत सो दिन ३५ हजार सात सय चार जनाले हवाईयात्रा गरेका छन्। यही से प्टेम्बर २७ र २८को अबिरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्धहुँदा हवाई उडानमा चाप भएको थियो।
अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप बढेपछि विमानस्थलको टर्मिनल भवना यात्रुको खचाखच भीडभाड थियो। अहिले हवाई उडान सामान्य बन्दै गएको विमानस्थल कार्यालयले जनाएको छ। यही सेप्टेम्बर २९, ३०, अक्टूबर १ र २मा हवाई उडान चाप बढेको थियो।











